राजनीति

आईजीपी हटाउने निर्णय राज्यसत्ताको चरम दुरुपयोग : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई राज्यसत्ताको चरम दुरुपयोग भएको बताएका छन्। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेपछि शाहीले त्यसको विरोध गरेका हुन्। 

सामाजिक सञ्जालमार्फत शाहीले व्यक्तिगत स्वार्थका आधारमा प्रहरी प्रमुखमाथि कारबाही गर्नु गलत भएको टिप्पणी गरेका छन् ।

‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। ’ उनले थपेका छन्, ‘यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो। भ्रष्ट आचरण हो,’। 

सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने र रिक्त पदमा एआईजी डा मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय गरेको छ।  

प्रकाशित: १८ कार्तिक २०८३ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App