नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८२ भदौ २३ र २४ गते भएको घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र वामपन्थी आन्दोलनका कमजोरी उजागर गरेको भन्दै त्यसको गहिरो, वस्तुनिष्ठ र वैज्ञानिक समीक्षा अपरिहार्य रहेको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले उक्त घटनालाई ‘प्रतिक्रान्तिकारी परिघटना’को संज्ञा दिँदै त्यसमा वैदेशिक दबाब र हस्तक्षेपसमेत देखिएको दाबी गरे।
प्रचण्डले भदौ २३–२४ को घटनाले नेपालको सुरक्षा संयन्त्रको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाबारे गम्भीर प्रश्न उठाएको बताए। यथार्थपरक समीक्षा नगरी अहिले देखिएका चुनौतीको सामना गर्न नसकिने उनको भनाइ थियो।
उनले भने, “२०८२ भदौ २३ र २४ गते हामीले प्रतिक्रान्तिकारी परिघटना देख्यौं, जसमा वैदेशिक दबाब र हस्तक्षेप पनि देखियो। नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखाअगाडि देख्नुपर्यो। सायद सुगौली सन्धिपछि नेपालको इतिहासमा यस्तो अवस्था न पढिएको थियो, न देखिएको थियो।”
विगतमा अंग्रेजसँग साहसपूर्वक लडेको नेपाली सेना र सैन्य नेतृत्वको इतिहास स्मरण गर्दै प्रचण्डले अहिलेको अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने बताए।
उनले भने, “अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली सेना र कमाण्डरहरू भएको देश आज यस्तो अवस्थामा कसरी पुग्यो? हामीले सामन्ती निरंकुशतन्त्रविरुद्ध कहिले सशस्त्र संघर्ष, कहिले शान्तिपूर्ण आन्दोलन, कहिले जनयुद्ध र कहिले जनआन्दोलनमार्फत जनताको विद्रोही शक्ति प्रदर्शन गरेका थियौं। तर भदौ २३ र २४ को घटनासम्म आइपुग्दा वामपन्थी शक्तिहरू किन यति निरीह र शक्तिहीन भए? यसको समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरी आजका चुनौतीको सामना गर्न सकिँदैन।”
प्रचण्डले विगतमा आफ्ना कमीकमजोरीबारे समीक्षा र आत्मआलोचना हुँदै आएको भए पनि अहिलेको परिस्थितिमा सामान्य समीक्षा मात्रै पर्याप्त नहुने बताए।
उनले भने, “हामीले विगतमा धेरै कमीकमजोरीको समीक्षा र आत्मआलोचना गरेका छौँ। तर यो पटक सामान्य समीक्षा र सामान्य आत्मआलोचनाले पुग्ने अवस्था छैन। हामीले कतै न कतै गम्भीर गल्ती गरेका छौँ।”
प्रकाशित: ८ श्रावण २०८३ २०:५३ शुक्रबार

-600x400.jpg)

