नेपाली कांग्रेसले जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने निर्णय गरेको छ।
राष्ट्रिय सभा संसदीय दलको बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलका तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय तथा विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायाले जानकारी दिए ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भएको उनले बताए।
बैठकपछि दलका नेता कृष्णप्रसाद सिटौलाले नयाँ परिस्थितिमा आफ्नो जिम्मेवारी थपिएको बताएका छन्।
उनले भने, “हामीले जनताको भावना अनुरूप अझ बढी सचेत, जागरूक र विशेष जिम्मेवारीका साथ काम गर्नुपर्छ भन्ने हाम्रो आजको निष्कर्ष छ। राष्ट्रिय सभामा हाम्रो सङ्ख्या अहिले २५ पुगेको छ, त्यसैले जिम्मेवारी पनि हाम्रो सबैभन्दा ठूलो हुन्छ।”
उनले राष्ट्रिय सभामा कांग्रेसले रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने पनि बताए।
प्रकाशित: २७ फाल्गुन २०८२ २१:३८ बुधबार