राजनीति

‘नालायक नेतृत्व’ लाई प्रतिस्थापन गर्न नसक्दा कम्युनिस्ट आन्दोलन विघटन भयो: राम कार्की

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफ्नो पुस्ता ‘नालायक’ नेतृत्वलाई प्रतिस्थापन गर्न असफल हुँदा नेपालको कम्युनिस्ट आन्दोलन जनताको नजरमा विघटन हुन पुगेको टिप्पणी गरेका छन्।

मंगलबार ललितपुरमा आयोजित ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै उनले पार्टीहरू अब केवल केही नेता र उनीहरूका शिष्य-मण्डलका लागि मात्रै अस्तित्वमा रहेको बताए।

नेता कार्कीले राजनीतिक दल र जनसमुदायबीच गहिरो खाडल सिर्जना भएको स्वीकार गर्दै भने, ‘खास गरेर हाम्रो पिँढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन। त्यसैले नेपालको कम्युनिस्ट आन्दोलन आज विघटन हुन पुगेको छ। जनताको नजरबाट, जेन-जीको नजरबाट हेर्दा पार्टीहरू विघटित भइसकेका छन्, उनीहरुको कुनै अस्तित्व छैन।’

उनले हालै भएको युवाहरूको जेन-जी आन्दोलन कुशासनविरुद्धको विस्फोट भएको बताए। भ्रष्टाचारका आरोपी नेताहरूले नै एकताको नाटक गरिरहेको आरोप लगाए।

‘जेनजी युवाहरूको भावना भ्रष्टाचार अन्त्य गर्ने छ, तर अहिले भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुण्डाएर ठूलो पदमा पुगेर एकताको स्वाङ गर्दैछन्,’ कार्कीले भने।

माओवादी आन्दोलन संसदीय व्यवस्थामा रुमल्लिएर सकिएको निष्कर्ष सुनाउँदै उनले सशस्त्र संघर्ष रोकेपछि पार्टीले नयाँ र जुझारु बाटो समात्न नसकेको स्वीकार गरे।

‘सशस्त्र संघर्षलाई निरन्तरता दिनु सम्भव थिएन, तर संसदीय व्यवस्थामै डुबुल्की मारेर पूर्ण रूपमा सकिनु गलत भयो,’ उनले भने।

आफूहरूले केवल अर्को एउटा पार्टी थप्न नभई मजदुर, किसान र उत्पीडित वर्गको पक्षमा लड्ने समाजवादी आन्दोलन निर्माण गर्न चाहेको उनले स्पष्ट पारे।

विगतमा नेतृत्वलाई सुधार्न नसकेकोमा जनतासँग क्षमायाचना गर्दै उनले भने, ‘हामीले नेतृत्वले दिएको दर्ज्यानी चिन्ह मिल्काएर आएका छौं। हामी सबै शुभेच्छुक र शुभचिन्तकहरूलाई यो समाजवादी आन्दोलनमा लाग्न आह्वान गर्दछौँ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरूबीच एकताको तयारी भइरहँदा त्यसमा असन्तुष्टि जनाउँदै नेता कार्की, जनार्दन शर्मा, अन्जना विशंखे लगायतले छुट्टै मोर्चाबन्दीको तयारी गरेका हुन्।

प्रकाशित: १८ कार्तिक २०८२ १६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App