राजनीति

रविसँग मुख्यमन्त्री थापाको गुनासो- प्रधानमन्त्री आउँदा पनि जानकारी पाइएन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबीच पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ।

भेटमा हालैको बाढीपहिरो, राहत तथा उद्धार व्यवस्थापन र सरकारका तीन तहबीचको सहकार्यका विषयमा छलफल भएको छ।

भेटका क्रममा मुख्यमन्त्री थापाले विपद्को घडीमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गरे। समन्वय अभावकै कारण प्रदेश सरकारले आफ्नै ढंगले काम गरिरहेको बताउँदै उनले प्रधानमन्त्री विपद् प्रभावित क्षेत्रको निरीक्षणमा जाँदासमेत प्रदेश सरकारलाई कुनै पूर्वजानकारी नदिइएकोमा दुःख व्यक्त गरे।

उनले विपद् व्यवस्थापनमा कुन तहको सरकारले के काम गर्ने भन्ने स्पष्ट कार्यविभाजन हुनुपर्ने आवश्यकता औंल्याए।

प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराउँदै मुख्यमन्त्री थापाले पठाइएका राहत सामग्री नुवाकोटको बट्टार क्षेत्रमा जम्मा भएको र त्यहाँभन्दा माथिल्लो भेगमा पुर्‍याउन निकै कठिनाइ भइरहेको बताए।

यस्तै, जलवायु परिवर्तनको दीर्घकालीन असरलाई मध्यनजर गर्दै नदी किनारका जोखिमयुक्त बस्तीहरू तत्काल स्थानान्तरण गर्न तीनवटै तहका सरकारले समन्वयात्मक रूपमा कदम चाल्नुपर्नेमा उनले जोड दिए।

जवाफमा रास्वपा सभापति रवि लामिछानेले विपद्को समयमा प्रदेश सरकारले स्थानीय र संघीय सरकारलाई जोड्ने सेतुको भूमिका निर्वाह गर्नुपर्ने बताए।

संकटको यस घडीमा सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने विषयमा आफूहरू पूर्ण सचेत रहेको उल्लेख गर्दै उनले संघीय सरकारका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १४ भाद्र २०८३ १७:०२ आइतबार