सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य रहेको रहेको बताएका छन्।
उनले सरकारको लक्ष प्राप्तिका लागि टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार एवम् गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले दूर दराजसम्म फोरजी सेवाको विस्तार, फाइभजी सेवाको सुरुआत, सेवाको गुणस्तर सुधार तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई मन्त्रालयले चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखेको बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले विगतका वर्षमा निर्धारण गरिएका लक्ष्य अपेक्षित रूपमा हासिल हुन नसकेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने समय आएको बताए।
उनले दूरसञ्चार क्षेत्रमा सुधारका लागि आवश्यक नीतिगत, कानुनी तथा अन्तरनिकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दैकार्यान्वयनमा भने कुनै ढिलासुस्ती स्वीकार्य नहुनेसमेत स्पष्ट पारे।
उनले काम गर्ने संस्कृतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि कर्मचारी वा निकायलाई निष्क्रिय भएर बस्ने छुट नरहेको बताए।
मन्त्रालय र मातहतका निकायबीच समन्वय कमजोर रहेको आफूले महसुस गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए।
‘काम नगरेर बस्न कसैलाई पनि छुट छैन। अन्तरनिकाय सम्बन्ध र समन्वय कमजोर रहेको महसुस गरिरहेको छु। यस्तो अवस्था दोहोरिनु हुँदैन। विधि र कानुनको पूर्ण पालना गर्दै नतिजामुखी रूपमा काम गर्नुहोला,’ सञ्चारमन्त्री तिमिल्सिनाले भने, ‘हामीले परिणाम देखिने गरी काम गर्नुपर्नेछ। त्यसका लागि समग्र संरचनागत सुधार आवश्यक छ।’
उनले विगतका कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारी सेवाप्रति नागरिकबाट आउने गुनासो घटाउन कार्यसम्पादन सुधार अपरिहार्य रहेको बताए।
प्रकाशित: १४ श्रावण २०८३ १५:१८ बिहीबार