राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी प्रहार गरिएको घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गर्दै औपचारिक रूपमा जाहेरी दर्ता गरिएको छ।
सांसद पौडेल सोमबार रास्वपाका नेता तथा कार्यकर्तासहित इलाका प्रहरी कार्यालय गरुडा पुगेर लिखित जाहेरी दर्ता गराएका हुन्। उनले घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कडा कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य तीव्र पारिएको बताए। दोषीहरूको पहिचान र पक्राउका लागि प्रहरी सक्रिय रूपमा परिचालन भइसकेको उनको भनाइ छ।
जाहेरी दर्ताका क्रममा सांसद पौडेलसँगै पुगेका रास्वपा नेता जनकराज भारतीले सात दिन बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपर्नु चिन्ताजनक विषय रहेको बताए। उनले जनप्रतिनिधिमाथि भएको सार्वजनिक आक्रमणमै प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा सर्वसाधारणमाथि हुने घटनामा सुरक्षा संयन्त्रको भूमिकाबारे गम्भीर प्रश्न उठेको टिप्पणी गरे।
यसैबीच रास्वपा रौतहटले घटनाका दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा नल्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
गत बिहीबार राति रौतहटको गढीमाई नगरपालिका–४, पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट तथा छलफल गरिरहेका बेला सांसद पौडेलमाथि पछाडिबाट कालोमोसो प्रहार भएको थियो।
सांसद पौडेल त्यसअघि आफ्नो निर्वाचन क्षेत्र रौतहट–४ अन्तर्गत समनपुर, बलुवा र गम्हरिया गाउँका स्थानीयसँग छलफल सम्पन्न गरी पर्सागाउँमा आयोजित कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रम समापनतर्फ अघि बढिरहेका बेला राति करिब ८ बजे ४–५ जनाको समूहमा आएका युवाले पोस्टर र पर्चा छर्दै नाराबाजी गरेका थिए। त्यसक्रममा उनीहरूले पछाडिबाट सांसद पौडेलमाथि कालोमोसो प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनापछि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
प्रकाशित: ११ श्रावण २०८३ १५:२१ सोमबार

-600x400.jpg)

