नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद समाधानका लागि सातबुँदे प्रस्तावलाई आधार बनाएर संवाद र सहमतिमार्फत अघि बढ्नुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको छैटौं दिन बोल्दै शर्माले विवादलाई लामो समयसम्म तन्काएर राख्दा समाधान ननिस्कने भन्दै सबै पक्षलाई खुला छलफलमा आउन आग्रह समेत गरेका छन्। उनले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असमझदारी अन्त्यका लागि कांग्रेसको तर्फबाट प्रस्ताव गरिएका सातबुँदे विषयमा लिखित रूपमा असहमति वा सुझाव नआएको बताए।
शर्माका अनुसार कांग्रेसले प्रस्ताव गरेको पहिलो बुँदामा विशेष महाधिवेशन सम्पन्न भएको यथार्थलाई आत्मसात गर्दै त्यसप्रति रहेका राजनीतिक विमतिलाई आगामी महाधिवेशनमा लिखित तथा मौखिक रूपमा राख्न पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, क्रियाशील सदस्यता अध्यावधिक गर्ने निर्णयलाई विधानअनुसार अघि बढाउँदै त्यसलाई डिजिटल प्रणालीमा लैजाँदा देखिएका अस्पष्टता समाधान गर्नुपर्ने प्रस्ताव गरिएको उनले बताए। पार्टीलाई समयअनुकूल डिजिटलाइज गर्ने विषयलाई राजनीतिक पूर्वाग्रहबाट हेर्न नहुने उनको भनाइ थियो।
कांग्रेसका अग्रज नेताहरूलाई केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेताको सम्मानजनक भूमिकामा राख्नुपर्ने प्रस्ताव पनि गरिएको शर्माले जानकारी दिए। पार्टीका लागि लामो समय योगदान दिएका नेताहरूलाई अभिभावकीय भूमिकामा राखेर अघि बढ्नु कांग्रेसको परम्परा र संस्कार भएको उनले बताए।
त्यसैगरी, विगतमा केन्द्रीय कार्यसमितिमा रहेका तथा नरहेका नेतामध्ये निश्चित संख्यालाई समेटेर केन्द्रीय कार्यसमितिमा जिम्मेवारी दिने र केहीलाई कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव गरिएको उनले बताए। विगतको पद वा भूमिकालाई बिर्सिएर सबैलाई एउटै ठाउँमा समेटेर अघि बढ्ने उद्देश्यले उक्त प्रस्ताव गरिएको शर्माको भनाइ छ।
प्रकाशित: २९ श्रावण २०८३ १२:३६ शुक्रबार
-600x400.jpg)


