नेकपा एमालेका सचिव महेश बस्नेतले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तामाथि बालेन सरकारले व्यापक दमन गरेको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको कदम निरंकुश र अधिनायकवादी भएको बताएका हुन्। आइतबार पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बबरमहलमा झडप भएको थियो।
यस झडपका बीच एक जना घाइते भएका छन्। प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
बस्नेतले आन्दोलनको दोस्रो दिन पनि सरकारले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको बताए।
साथै,सरकारी दमनको विरोधमा एमालेले भोलि (सोमबार) काठमाडौंमा विशेष प्रदर्शन गर्ने जानकारी दिए।
सचिव बस्नेतका अनुसार भोलि दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम हुँदैछ। उनले सरकारको उक्त कदमविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।
प्रकाशित: १५ चैत्र २०८२ १७:०० आइतबार