राजनीति

सुनसरी घटनाप्रति बाबुराम भट्टराईको चिन्ता

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक हिंसाको घटनाले मुलुकलाई अस्थिरता र अविकासतर्फ धकेल्न सक्ने बताएका छन्। 

मंगलबार सामाजिक सञ्जालमार्फत भट्टराईले देवानगञ्जमा एक युवकको ज्यान जाने, सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको साम्प्रदायिक दंगा अत्यन्त गम्भीर र चिन्ताजनक भएको बताएका छन्। 

उनले अहिलेको वैज्ञानिक युग, परिवर्तनशील भूराजनीतिक अवस्था तथा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको वर्तमान सन्दर्भमा यस्ता अवाञ्छित र हानिकारक घटना दोहोरिन नदिन सबै पक्षले उच्च विवेक र संयम अपनाउनुपर्ने आवश्यकता बताएका छन्। 

भट्टराईले नवनिर्वाचित सरकार, सबै राजनीतिक दल तथा आम नागरिकलाई सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फस्न नदिन सचेत रहनुपर्ने बताएका छन्। 

उनले आगामी दिनहरू अझ चुनौतीपूर्ण हुन सक्ने भन्दै सबै पक्षले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्। ‘अब हामी कसैलाई पनि यो वा उ बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट छैन। हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रकाशित: १२ श्रावण २०८३ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App