राजनीति

भूकम्पपछि हिमपहिरो र पहिरो, नेपाललाई सहयोग गर्न तयार छौँ : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको भीषण बाढीको प्रारम्भिक कारण नेपालतर्फ गएको भूकम्पपछि हिमपहिरो र त्यसपछि आएको पहिरो हुन सक्ने बताएका छन्। 

नेपाल टेलिभिजन वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत चाङले उपलब्ध प्रारम्भिक सूचनाअनुसार बिहान नेपालतर्फ भूकम्प गएको र त्यसपछि हिमपहिरो तथा पहिरो खस्दा जिरोङ–रसुवागढी सीमाक्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो क्षति भएको जानकारी आएको बताए। 

प्राकृतिक विपत्तिबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले कठिन परिस्थितिमा चीन नेपालसँगै रहेको र आवश्यक सहयोग गर्न तयार रहेको बताए।

उद्धारलाई पहिलो प्राथमिकता :

राजदूत चाङका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले विपत्तिप्रति उच्च चासो व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। 

जोखिममा रहेका मानिसलाई तत्काल सुरक्षित स्थानमा सार्न, घाइतेको शीघ्र उपचार गर्न तथा मानवीय क्षति न्यून गर्न राष्ट्रपति सीले निर्देशन दिएको उनले बताए। थप जोखिम रोक्न निरन्तर निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन तथा वैज्ञानिक ढंगले उद्धार अभियान सञ्चालन गर्न पनि जोड दिइएको उनले जानकारी दिए। 

विपत्तिपछि नेपालस्थित चिनियाँ दूतावासले आपत्कालीन संयन्त्र सक्रिय बनाएको र प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी संकलन गरिरहेको राजदूतले बताए। 

दूतावासले नेपाली सरकार तथा सम्बन्धित निकायलाई उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्नुका साथै घटनास्थलमा कार्यदल पठाएर उद्धार तथा समन्वयमा सहयोग गरिरहेको उनले जानकारी दिए।

नेपाललाई आपत्कालीन सहयोग गर्ने तयारी : 

रसुवागढी सीमाको चिनियाँतर्फसमेत ठूलो क्षति भएको उल्लेख गर्दै राजदूत चाङले चीनले नेपालका लागि आपत्कालीन सामग्री तथा नगद सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताए। 

उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोका सदस्य तथा चीनको राज्य परिषद्का उपप्रधानमन्त्री चाङ गुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीसहित तिब्बत पुगेर उद्धार तथा विपद् व्यवस्थापनको कामको नेतृत्व गरिरहेका छन्।

राजदूत चाङले विपत्तिपछि नेपाल सरकार तथा सम्बन्धित निकायले गरेको उद्धार र व्यवस्थापनको प्रयासको प्रशंसा गर्दै नेपाली जनताले देखाएको धैर्य र विपत्तिसँग जुध्ने क्षमताको समेत सराहना गरे।

पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्ने :  

राजदूत चाङले नेपाल र चीनले पछिल्लो विपत्तिबाट पाठ सिक्दै आगामी दिनमा विपद् न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापनमा सहकार्य थप बलियो बनाउनुपर्ने बताए। 

उनले मौसम, जलविज्ञान तथा भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान, निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सीमापार विपद्सम्बन्धी सूचना तत्काल आदानप्रदान गर्ने संयन्त्र विकास गरी विपद्को प्रारम्भिक पहिचान, पूर्वसूचना र तत्काल प्रतिक्रिया सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। 

त्यस्तै, आपत्कालीन उद्धारका क्रममा दुवै देशबीच सञ्चार, समन्वय र संस्थागत क्षमता विकास गर्नुपर्ने उनले बताए। जनशक्ति तालिम, प्राविधिक आदानप्रदान तथा आपत्कालीन सामग्री व्यवस्थापनमा समेत सहकार्य बढाउनुपर्ने उनको सुझाव छ। 

नेपाल र चीन पहाड तथा नदीले जोडिएका निकट छिमेकी भएको उल्लेख गर्दै राजदूत चाङले नेपाललाई आवश्यक पर्दा चीन आफ्नो क्षमताले भ्याएसम्म सहयोग र समर्थन गर्न तयार रहेको बताए। 

प्रकाशित: ११ भाद्र २०८३ ११:४८ बिहीबार