पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान गरिएको गिरफ्तारीलाई अधिवक्ता टीकाराम भट्टराईले गैरकानुनी, गैरसंवैधानिक तथा राजनीतिक प्रतिशोधपूर्ण कदम भएको बताएका छन्।
गिरफ्तारी कानुनले तोकेको प्रक्रिया विपरीत गरिएको भन्दै उनले भने, ‘कुनै पनि नागरिकलाई सामान्यतया सूर्य उदाएपछि र सूर्यास्तअघि मात्रै पक्राउ गर्न पाइन्छ, तर उहाँहरूलाई सूर्य उदाउनुअघि नै पक्राउ गरिएको छ।’ साथै, जिल्ला अदालतबाट पक्राउ पुर्जी नलिई गरिएको गिरफ्तारी पनि प्रक्रियाविपरीत रहेको उनको भनाइ छ।
उनले ‘जरुरी पक्राउ पुर्जी’ प्रयोग गरिएको भए पनि त्यसका लागि आवश्यक पूर्वशर्त-सम्बन्धित व्यक्ति भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने सम्भावना-नदेखिएको भन्दै उनले यी दुवै अवस्था नहुँदा पनि जरुरी पक्राउ पुर्जी प्रयोग गर्नु गैरकानुनी भएको बताएका छन् ।
भट्टराईले कार्की आयोगको प्रतिवेदनका आधारमा मात्र कारबाही गर्न नमिल्ने भन्दै विगतका मल्लिक आयोग र रायमाझी आयोगका उदाहरण दिँदै प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाएर प्रमाण संकलन गरेपछि मात्र गिरफ्तारीको प्रश्न आउने बताए।
सरकारको प्रारम्भिक कदमले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको र पूर्व प्रधानमन्त्रीलाई सामान्य राजनीतिक संवादको अवसर नदिई सीधै गिरफ्तारी गर्नु अस्वाभाविक भएको उनको भनाई छ।
साथै सरकारको यस्तो राजनीतिक प्रतिशोधले लोकतन्त्र, प्रेस स्वतन्त्रता, न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रता सबैलाई असर पार्ने उनको तर्क छ ।
प्रकाशित: १४ चैत्र २०८२ १६:५३ शनिबार