पोखरा हुँदै मुस्ताङ जान निस्केका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार स्थलमार्ग हुँदै पोखरा भित्रिएका छन्। पोखरा आएका उनी कतै नपसी कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम उक्लेका छन्। दिउँसो तीनबजेतिर अस्ताम पुगेका प्रधानमन्त्री शाहको भ्रमणबारे बाहिर आधिकारिक सुचना दिइएको छैन। उनी अस्तामकै अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नेछन्।
अस्तामको यो रिसोर्ट पोखराबाट करिब १५ किलोमिटर पर पर्छ। पोखरा–बागलुङ राजमार्गको हेम्जाबाट भित्री बाटो भएर यो रिर्सोट पुग्न सकिन्छ। हेम्जादेखि अस्तामसम्मको कालोपत्रे नागबेली सडक पार गरेर रिसोर्ट पुगेका प्रधानमन्त्री शनिबार बिहान नौबजे बाहिरिने तालिका रहेको श्रोतले बताएको छ। जंगलको कालोपत्रे चिल्लो बाटो हुँदै हिमाली श्रृंखला र हरियाली अवलोकन गर्दै अस्ताम उक्लिन सकिन्छ।
‘प्रधानमन्त्री शाह निकै नै शालिन तरिकाले आउनुभयो। यहाँको प्रकृतिसँग रमाउनु भएको छ। प्रधानमन्त्री भित्रिएपछि मौसमले पनि साथ दिएको छ,’ रिसोर्ट श्रोतले भन्यो, ‘शितल हावा चलेको छ। बिहान हिमाल खुल्यो भने झनै सुन्दर दृष्य देख्ने अवसर जुट्नेछ।’
श्रोतका अनुसार प्रधानमन्त्री शाहको टिमका लागि रिसोर्टका चारवटा ब्लकका १२ कोठा बुकिङ गरिएको छ। ‘ग्रामीण क्षेत्रको यो रिसोर्टले प्रधानमन्त्रीलाई स्वागत गर्न पाएको छ। यो नै हाम्रा लागि महत्वपूर्ण अवसर हो,’ रिसोर्टका एकजना जिम्मेवार अधिकारीले भने, ‘प्रधानमन्त्रीलाई बसाउन पाउँदा निकै नै खुसी छौं। प्रधानमन्त्री शाहले गाउँको रिसोर्टप्रति देखाएको माया र सद्भावले हामी खुसी छौं।’
.jpg)
अस्तामका विश्व अधिकारी र उनको परिवार मिलेर यो रिसोर्ट संचालन गरिएको छ। २०६३ मा अस्तामस्थित गाउँको पुख्र्यौली घरबाट यो रिसोर्टको जग बसेको थियो। सुरुमा २ वटा कोठा बनाएर थालिएको रिसोर्ट अहिले भव्य बनेको छ। अधिकारीले अहिले अन्नपूर्ण इको भिलेजलाई पर्यटन क्षेत्रमा स्थापित बनाएका छन्। अहिले रिसोर्टमा २३ वटा कोठा छन। कोठा बाहेक योगाहल सहितका पूर्वाधार बनाएका छन। केही पूख्र्याैली र पछि थपेको समेत गरेर अहिले २५ रोपनी क्षेत्रफलमा उनले रिसोर्ट संचालन गरेका छन। रिसोर्टमा आफु सहित तीनजना दाजुभाई र परिवारका सबै सदस्य खटिन्छन।
‘उत्तरतिर फर्किदा माछापुच्छ«े सहितको हिमाली श्रृंखला, र पूर्व फर्किदा पोखरा सहर सहित हेम्जाको बस्ती सहितको नागबेली राजमार्ग देख्न सकिन्छ,’ उनले भने, ‘सहरतिरको तातो र प्रदूषण सहितको कोलाहलबाट केही राहत खोज्ने पाहुनाका लागि अहिले अन्नपूर्ण इको भिलेज गजबको गन्तव्य बनेको छ। रिसोर्टको एकैठाउँबाट दायाँबायाँ फर्किएर हेर्दा फरक फरक र लोभलाग्दो दृष्य देख्न सकिन्छ। त्यही दृष्यले धेरैको मन जितेको हो।’ यतिबेला सहरमा तातोको हपक्कले पोलिरहँदा अस्तामको उक्त डाँडाको रिसोर्टमा बस्ने पाहुनाले पंखा समेत खोज्नुनपर्ने उनले सुनाए।
अधिकारीले अहिलेसम्म रिसोर्टमा करिब २५ करोड रुपैयाँ समेत लगानी गरिसकेका छन। अझै केही वातावरणमैत्री कोठा थप्ने सुरमा उनी छन। आफु र अरु दुईजना भाई समेत त्यही रिसोर्टमा काममा खटिन्छन। अधिकारी ब्रदर्शले संचालन गरेको यो रिसोर्टलाई सजाउने पाहुनाको स्वागतमा उनीहरु आफै खटिन्छन। त्यत्ति मात्र नभई खानपिनका लागि आवश्यक तरकारी र केही खाद्यान्नको जोहो पनि आफैले गर्छन।
रिसोर्टमा भित्रिएका पाहुनालाई स्वागतार्थ पिलाउने चियादेखि खाना खाजासम्मका लागि स्थानीय उत्पादनलाई नै उनीहरुले प्राथमिकता दिने गरेका छन। सकेसम्म सहरीया खानाबाट रिसोर्टलाई टाढा राख्ने प्रयास गरेको उनीहरुको भनाई छ।
प्रकाशित: ५ भाद्र २०८३ १७:१८ शुक्रबार
-600x400.jpg)

-600x400.jpg)
-600x400.jpg)