काठमाडौं, भदौ ८ (नागरिक)- नेकपा माओवादीले ८ हजार लडाकूलाई नेपाली सेनाको मातहतमा महानिर्देशनालय गठन गरी समायोजन गर्न सकिने प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्रीको निर्वाचन तय भएकै दिन बिहीबार माओवादी स्थायी समिति बैठकपछि सार्वजनिक अवधारणा पत्रमा केन्द्रीय सदस्य तहमा रहेका कमान्डरहरुलाई राजनीतिक कममा खटाइने उल्लेख छ। अवधारणापत्रमा पुर्स्थापनामा जानेलाई गोल्डेन ह्यान्डसेक र तहअनुसार ७ देखि १० लाख रकम प्रदान गर्ने माओवादी अवधारणापत्रमा छ। दलहरुले माओवादी शान्ति प्रक्रिया बारे इमान्दार नभएको भन्ने आरोप खेपिरहँदा माओवादीले भदौ १४ भित्रै समायोजन र पुर्नस्थापनाको लागि पुन वर्गीकरणको प्रक्रिया आरम्भ गर्ने उल्लेख गरेको छ।
नेपाली सेना अन्तर्गत माओवादी सेना रहने मोडालिटी बनाउने तथा समायोजनका लागि भौतिक तथा स्वास्थ्यको मापदण्ड पूरा गर्नुपर्ने माओवादीले उल्लेख गरेको छ। उमेर, विवाह, शिक्षा तथा समायोजन विशेष मापदण्डअनुसार लडाकूहरु निश्चित इकाइमा समायोजन गर्ने प्रस्तावमा छ। समायोजन हुनेहरुको दर्जा मिलान गरिने पनि उसले जनाएको छ।
माओवादीको सरकार गठन लगत्तै लडाकू हातहतियार कन्टेनर विशेष समितिलाई हस्तान्तरण गरिने उसको प्रस्तावमा उल्लेख छ।
प्रकाशित: ८ भाद्र २०६८ ०३:२८ बिहीबार



