नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सोमबार (हिजो) नेता डा. शेखर कोइरालाले दर्जनौं विषयमाथि बोले, त्यस क्रममा केन्द्रीय सदस्य विनोद चौधरीको सदस्यता पनि पर्यो।
चौधरीको सदस्यताबारे कोइरालाले भनेका थिए, 'विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो। १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन।'
कोइरालाले उठाएको त्यो प्रश्नको सामना चौधरीले आजको बैठकमा गरे। उनले आफूमाथि उठेको प्रश्नको स्पष्टीकरण त दिए नै, सँगैमा अन्य विषयबारे पनि बोल्न भ्याए। 'नेता कोइरालाले हिजो प्रश्न उठाउनुभयो कि विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअघि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो, म कांग्रेसको विधि र विधानमार्फत निर्वाचित भएको हुँ,' उनले भने।
चौधरी यहीँ अडिएनन्। उनले धेरै अगाडि बढेर कोइरालाका प्रति टिप्पणी गरे। उनले पछिल्लो निर्वाचनमा आफूलाई हराउने भरमग्दुर प्रयास कोइरालाले गरेको भन्दै आरोपित गरे। आफ्नो प्रतिस्पर्धी हृदयेश त्रिपाठीलाई जिताउनका लागि कोइरालाले प्रयास गरेको चौधरीको आरोप छ।
‘घर-घर गएर पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयेश त्रिपाठीका लागि ठाउँ-ठाउमा, बुथ-बुथमा मान्छे राखी पार्टीका शीर्षस्थ नेतालाई तथानाम गाली गरी हराउन हरप्रयास गर्ने लुम्बिनी प्रदेश महामन्त्रीमा आसीन भएर बस्नेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिनमा ?,' उनले भने।
कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल कोइराला निकट मानिन्छन्। खनालमाथि पछिल्लो निर्वाचनमा चौधरीलाई हराउन भूमिका खेलेको आरोप थियो। त्यही विषय उधिन्दै चौधरीले कोइरालाको भूमिकाप्रति प्रश्न उठाएका हुन्।
चौधरीले कोइरालाले पार्टीभित्र सीमा नै नाघेर गुटको राजनीति गरिरहेको पनि बताएका छन्। 'यो अहिलेको कारबाही मात्र होइन, यसपछि पनि पार्टीविरुद्ध सधैँ नै यस्ता किसिमका गतिविधिमा संलग्न हुने, पार्टीलाई नोक्सान पुर्याउने, पार्टीका आधिकारिक उम्मेदवारलाई नोक्सान पुर्याउने, आफ्ना जिम्मेवारीलाई पूरा नगर्नेहरूका खिलाफमा हुजुरी मात्र हैन, तत्काल कारबाही गर्ने वातावरण बनाउन सक्नुपर्छ,' उनले भने, 'गुटको राजनीतिको पनि सीमा हुन्छ।'
यो पनि पढ्नुहोस्
शेखरले गरे प्रश्नैप्रश्नप्रकाशित: १७ असार २०८२ १७:१० मंगलबार



