राजनीति

ध्रुवीकरणको नाममा माओवादीमा अब ‘असीमित’ केन्द्रीय सदस्य

नेकपा (माओवादी केन्द्र) ले ‘असीमित’ केन्द्रीय सदस्य बनाउन मिल्ने गरी विधानको प्रावधान सच्याएको छ। 

२०८० फागुनमा काठमाडौंमा भएको विधान सम्मेलनले पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कूल सदस्य सङ्ख्याको १० प्रतिशतसम्म मात्र समायोजन गर्न सकिने प्रावधान गरेको थियो। तर, त्यसलाई संशोधन गरेर माओवादीले जति पनि सदस्य बनाउन मिल्ने प्रावधान ल्याएको हो।

गत जेठ १२ गते बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। यसपछि पार्टीले १९ गते केन्द्रीय सदस्यहरूलाई सर्कुलर पठाएर यसबारे जानकारीसमेत गराइसकेको छ।

‘पार्टी विधानको प्रावधानअनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कूल सदस्य सङ्ख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेकोमा पार्टी एकता, समायोजन र ध्रुवीकरणको आवश्यकता र महत्त्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने’, पार्टी महासचिव देव गुरूङले जारी गरेको सर्कुलरमा भनिएको छ।

माओवादीमा अहिले ४०८ जना केन्द्रीय सदस्य छन्। यसअनुरूप जाने हो भने बढीमा ४० जना मात्रै थप्न सकिन्छ। तर, विधानको यो प्रावधान निष्क्रिय पारेर माओवादीले जति पनि केन्द्रीय सदस्य बनाउन मिल्ने बनाएको छ।

माओवादी केन्द्रको विधान सम्मेलनले ९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो। तर, पार्टीको महाधिवेशनसम्मका लागि अहिलेकै कमिटी यथावत् राख्ने र महाधिवेशनमा निर्वाचनबाट केन्द्रीय सदस्य छान्ने निर्णय माओवादीले गरेको थियो।

त्यसो त अध्यक्ष पुष्पकमल दाहालले पहिल्यैदेखि दुई अङ्कको केन्द्रीय सदस्य बनाउने बताउँदै आएका हुन्। तर, अहिले आएर फेरि असीमित सङ्ख्यामा बनाउन सकिने बनाएका छन्। यसअघि माओवादीले चार हजारसम्मको सङ्ख्याको केन्द्रीय समिति बनाएको थियो। जसको आलोचनासमेत भएको थियो। फेरि माओवादीले अरु पार्टीहरूसँग एकता र ध्रुवीकरण हुने भन्दै असीमित केन्द्रीय सदस्य बनाउन सकिने प्रावधान बनाएको हो।

प्रकाशित: २८ जेष्ठ २०८२ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App