राजनीति

अहिलेसम्म १२ महिला उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला उम्मेदवारहरूले ऐतिहासिक जित हासिल गरेका छन्। १११ सिटको नतिजा आउँदासम्म रास्वपाबाट ११ जना महिला उम्मेदवारहरूले पुराना र स्थापित राजनीतिक हस्तीहरूलाई भारी मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्।

रास्वपाका तर्फबाट झापा-२ मा इन्दिरा राना मगरले ६० हजार ११० मतसहित एमालेका देवराज घिमिरेलाई पराजित गरिन्। त्यस्तै, चितवन-३ मा सोविता गौतमले ५९ हजार २७७ मत ल्याएर माओवादीकी रेनु दाहाललाई स्तब्ध पारिन्। मोरङ-६ मा रुविना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दै कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरिन्। झापा-१ मा निशा डाँगीले ४५ हजार ६८० मतसहित कांग्रेसका केशवराज पाण्डेलाई हराउँदै संसदमा युवा उपस्थितिको बलियो प्रमाण दिइन्।

ललितपुर-३ मा तोसिमा कार्की (४३ हजार ०९६), धादिङ-१ मा आसिका तामाङ (३९ हजार १२८) र कास्की-३ मा बिना गुरुङ (३७ हजार ७५०) मतका साथ निर्वाचित भएका छन्। यस्तै सर्लाही-१ मा नितिमा भण्डारी (४४ हजार १८१), मोरङ-५ मा आशा झा (३० हजार ४३४), कैलाली-१ मा कोमल ज्ञवाली (१७ हजार ८२६) र काठमाडौं-१ मा रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित सानदार जित निकाल्न सफल भएका छन्। रास्वपाका अधिकांश महिला उम्मेदवारहरूले निकै फराकिलो मतान्तर कायम गरेका छन्।

नेपाली कांग्रेसका तर्फबाट भने दैलेख-१ मा बासना थापा १२ हजार ३७२ मतसहित विजयी भएकी छन्। उनले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरिन्। प्रत्यक्षतर्फ कूल ३ हजार ४०६ उम्मेदवारमध्ये ३८८ महिला चुनावी मैदानमा रहेका थिए। 

प्रकाशित: २४ फाल्गुन २०८२ ०३:१४ आइतबार