युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले देशभित्रै आन्तरिक रोजगारी सिर्जना र श्रमिकको अधिकारलाई समान प्राथमिकतामा जोड दिइएको बताएका छन्।
श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा ८० प्रतिशतभन्दा बढी काम वैदेशिक रोजगारीमा मात्र केन्द्रित हुने गरेको उल्लेख गर्दै अब आन्तरिक र वैदेशिक रोजगारी दुवैलाई समान प्राथमिकता दिइने स्पष्ट पारे।
उनले भने, ‘यस चालु आर्थिक वर्षमा ‘जब म्याचिङ’ मार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। यसका लागि सरकारले १२ वटा ‘फ्ल्यागसिप’ रोजगारीका कार्यक्रमहरू लन्च गर्न लागेको छ, जसमा एआई, ग्रिन जब्स, कृषि, डिजिटल रोजगारी, सिजनल काम तथा डोमेस्टिक र केयरगिभर सम्बन्धी कामहरू समावेश छन्।’
विगतका दिनहरूमा आन्तरिक रोजगारीका लागि उपयुक्त ऐन–नियम नभएकोले हाल सरकार नीतिगत, कानुनी तथा संस्थागत ढाँचा निर्माणको काममा व्यस्त रहेको समेत उनले बताए।
यसै क्रममा मन्त्री यादवले यही असोज दोस्रो साता सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको र उक्त मेलामा वास्तविक रोजगारदाता र रोजगारीको खोजीमा रहेका श्रमिकहरूबिच प्रत्यक्ष म्याचिङ गराई रोजगारीको अवसर उपलब्ध गराइने बताए।
प्रकाशित: २ आश्विन २०८३ १९:११ शुक्रबार



