अन्य

जब सुहागरातमै दुलहीले बच्चा जन्माइन्...

के तपाईं एक महिलाले विवाहको पहिलो रातमा नै बच्चा जन्माएको कुरा पत्याउनुहुन्छ ? सुन्दा नै अनौठो लाग्ने घटना बाहिर आएको छ। 

विवाहको केही घण्टापछि नै दुलहीले छोरीलाई जन्म दिएपछि गाउँले नै हैरान भए। विवाहको पहिलो रातमा मिलेको खुसीले परिवार मात्रै नभएर गाउँमा उत्सवको माहोल तयार भयो।

घटना भारत, उत्तर प्रदेशको रामपुरको हो। त्यहाँको अजिमनगर प्रहरी चौकी क्षेत्र अन्तर्गत पर्ने कुम्हरिया गाउँमा विवाहको ६ घण्टाभित्र ती महिला आमा बनेको आजतकले जानकारी दिएको छ।

समाचार अनुसार कुम्हरिया गाउँका एक युवक रिजवानको बहादुरगंज गाउँकी एक महिलासँग इन्गेजमेन्ट भएको थियो। यी दुई पहिले नै प्रेम सम्बन्धमा थिए। साथै, उनीहरूको परिवारमा पनि कुराकानी भइरहेको थियो। 

केही दिन अघि ती महिलाले अजिमनगर क्षेत्रको मुरसैना प्रहरी चौकीमा गएर विवाहको लागि निवेदन दिएकी थिइन्। त्यसपछि प्रहरी र गाउँका प्रमुखको उपस्थितिमा दुवै पक्षबिच आपसी सम्झौता भयो, विवाहलाई अन्तिम रूप दिइयो।

शनिबार साँझ बेहुला केही मानिसहरूसँगै बहादुरगंज गाउँमा पुगे। परम्परागत विवाह समारोहपछि बेहुलीलाई घर लिएर गए। 

अचानक मध्यराततिर बेहुलीलाई अचानक पेटमा गम्भीर दुखाइ भयो, जसले घरमा त्रासमा वातावरण बन्यो। परिवारले तत्काल महिला डाक्टरलाई बोलाएर प्राथमिक उपचार गर्‍यो। 

तर आइतबार बिहान सबेरै घर नवजात शिशुको रोदनले गुन्जिएपछि सपरिवार र गाउँले पनि चकित परेका हुन्। बेहुलीले स्वस्थ शिशु छोरीलाई जन्म दिइन्। बेहुलाले केटीलाई आफ्नो काखमा लिए, गाउँमा मिठाई बाँडेर खुसी साटासाट गरे। 

यो घटना वरपरका गाउँहरूमा समेत चर्चाको कारण बनेको छ। प्रहरीका अनुसार हाल दुवै पक्ष सँगै बसिरहेका छन्। कुनै कानुनी कारबाही चाहेका छैनन्। 

प्रकाशित: १२ माघ २०८२ १४:०४ सोमबार