अन्य

नौ दिनमा तीन बलात्कार

सर्लाही-बलात्कारविरुद्ध 'बेटी बचाऊ' अभियान सुरु भएका बेला सर्लाहीमा यस्ता घटना धमाधम सार्वजनिक हुन थालेका छन्। पछिल्लो ९ दिन अवधिमै तीन जनामाथि बलात्कार तथा बलात्कार प्रयास भएको पाइएको छ। पीडितमा दुई बालिका र एक महिला छन्।


धनकौल पश्चिममा २७ वर्षीया महिला, धनकौल पूर्वमा चार वर्षीया बालिका र नेत्रगन्जमा ११ वर्षीया बालिका छिमेकीबाटै दुर्व्यवहारमा परेका हुन्। तीनवटै घटनामा आरोपीलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश बस्नेतले जानकारी दिए।

गत बुधबार राति ८ बजे नेत्रगन्ज–७ स्थित घरमा बसिरहेकी ११ वर्षीया बालिकालाई सडकमा बोलाई स्थानीय सुमन राईले बलात्कार गरेका थिए। त्यति बेला बालिकाका बुबाआमा घरमा खाना पकाउँदै थिए। बालिका चिच्याएको सुनेर स्थानीय पुगेपछि राई भागेका थिए। १५ वर्षीय राई पक्राउ परिसकेका छन्।

स्थानीयको उजुरीका आधारमा पक्राउ गरिएका राईलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। पीडित बालिकाको स्वास्थ्यपरीक्षण भइसकेकाले प्रहरीले राईलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।

यसअघि फागुन २२ गते धनकौल–८ मा अपराह्न तीन बजे घाँस काट्दै गरेकी २७ वर्षीया महिलामाथि स्थानीय रुद्र सहनीले बलात्कार प्रयास गरेका थिए। महिलाले प्रतिकार गरेपछि सहनीले उनीमाथि कुटपिट तथा साडीले घाँटी थिचेर हत्या गर्न खोजेका थिए।

४७ वर्षीय सहनीलाई इलाका प्रहरी कार्यालयले बरहथवाले पक्राउ गरिसकेको प्रहरी निरीक्षक विजय यादवले बताए। पीडितले प्रहरीलाई दिएको बयानअनुसार होलीका दिन मदिराले लट्ठिएर गएका सहनीको कुटपिटबाट उनको आँखा र मुख फुटेको छ। सहनीले उनको शरीरभरि टोकेको चोट छ। कुटपिटपछि उनले महिलाको घाँटीमा साडी बेरी खेतभरि घिसारेका थिए। त्यसपछि घाँटी थिचेर हत्या गर्न खोजेका थिए। तत्काल महिलाका आठवर्षे छोरा पुगेपछि उनी भागेका थिए।

घटनापछि चिन्ताग्रस्त अवस्थामा काठमाडौं पुर्यापइएकी महिलाको स्वास्थ्यमा सुधार भइरहेको प्रहरीले जनाएको छ। घाइते अवस्थामा अबेर साँझ घर फर्केकी महिलाले एक दिनपछि प्रहरीमा उजुरी गरेकी थिइन्। उजुरीलगत्तै सहनीलाई पक्राउ गरिएको प्रउ बस्नेतले बताए। 'सहनीमाथि बलात्कारसँगै ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही अघि बढ्छ,' उनले भने।

त्यस्तै, फागुन १९ गते धनकौल पूर्वकी एक चारवर्षीया बालिका बलात्कारमा परेकी थिइन्। घरमै बसिरहेकी बालिकालाई स्थानीय जनार्जन महतोले बलात्कार गरेका थिए। पीडित परिवारको उजुरीका आधारमा प्रहरीले उनलाई २१ गते पक्राउ गरेको थियो। सोही दिन अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बलात्कारसम्बन्धी घटना प्रायः स्थानीय स्तरमै लुकाउने गरिएको पाइन्छ। यी घटनामा भने एक दिन ढिलो भए पनि उजुरी परेकाले आरोपी पक्राउ गर्न सकिएको बस्नेतले बताए। बलात्कृत महिला आफैं जागरूक भएर उजुरी दिनु सकारात्मक भए पनि यति छोटो अवधिमै महिला तथा बालिकामाथि हिंसाका यति धेरै घटना सार्वजनिक हुनुले चिन्ता बढाएको उनको भनाइ छ। 'दोषीलाई जसरी पनि कारबाही हुन्छ,' उनले भने।


प्रकाशित: २९ फाल्गुन २०७१ १९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App