...........
म ८ कक्षा पढ्थेँ होला। म र हामीसँगै पढ्ने एक जना केटाको 'बर्थडे' एकैदिन पर्थ्याे। यही कारण साथीहरूले मेरो ऊसँग नाम जोड्न थाले। 'कति भाग्यमानी है तिमीहरू, बर्थ डे पनि एकैदिन' भन्थे। साथीहरूले जिस्क्याउने गरेकै कारण ऊ र मबीच रहेको औपचारिक बोलचाल पनि सकियो। बोलेको देख्यो भने साथीहरूले जिस्क्याउने डरले हामी बोलेनौँ। कहिलेकाहीँ एकैपटक कक्षाकोठामा छिर्ने संयोग मिल्दा पनि 'होल क्लास'ले 'ओ...' भनेर हल्ला गरिहाल्थ्यो। यसैबीच भ्यालेन्टाइन्स डे आयो। साथीहरूले जिस्क्याएकै कारण मनभित्र ऊ त मेरो भ्यालेन्टाइन भन्ने परेछ! त्यसमाथि साथीहरूले 'आजको दिन जा न, बोल् न' भनेपछि उसको अनुहार हेर्दा मेरो गाला त लाजले लाल–लाल पो भएछन्।
लकरमा गुलाब
रातो बंगला स्कुलमा पढ्दाताका हो। हामी सबैको आफ्नै लकर हुन्थ्यो। भ्यालेन्टाइन्स डेको दिन कसले लकरमा गुलाब राखिदिएछ। गुलाब चाहिँ प्लास्टिकको थियो। कसले राखेछ गुलाब भनेर सोधीखोजी गरियो। मान्छे पत्ता लागेन। त्यसपछि त साथीहरूमाझ मेरो सान बेग्लै भइगयो नि। किनभने, मलाई महत्व दिने कोही छ भन्ने त्यो गुलाबले प्रमाणित गरेको थियो।
त्यो पो हो त तरिका
म कामको सिलसिलामा नगरकोटमा थिएँ। हिउँ परिरहेको थियो। म होटलभित्र कम्प्युटरमा काम गरिरहेको थिएँ। साथीहरूले 'बाहिर आइज न, बाहिर' भन्दै बोलाए। तल झरिनँ, बरन्डामा आएर हेरेको त 'आई लभ यू' लेखेका बेलुन उडिरहेका छन्। कसले उडायो भन्दै तल हेरेको एक जना पूर्वपरिचित युवक थिए। 'विल यू बी माई गर्लफ्रेन्ड?' भनेर लेखिएको टेडी बियर हातमा समातिरहेका थिए। उनको त्यो तरिका, मलाई खोज्दै त्यत्रो टाढा पुगेर प्रस्ताव राख्ने तरिका, मलाई असाध्यै मन परेको थियो।
त्यो फ्रान्सेली केटो
अर्को हप्ता रिलिज हुने फिल्म 'झोले'मा रहेको एउटा प्रेम 'सिक्वेन्स'ले मलाई अमेरिका रहँदाखेरी एक जना फ्रान्सेली युवकको याद आएको थियो। एकचोटि सेमिनारमा गएकी थिएँ। एयरपोर्टमा मलाई लिन आएको गाडीमा एकजना फ्रेन्च स्टुडेन्ट पनि पर्यो। ऊ पनि सोही सेमिनारका लागि आएको रहेछ। एयरपोर्टबाट होटल पुग्न दुई घण्टा लाग्थ्यो। हामीले आफ्ना देशबारे कुरा गर्यौँ । त्यसले अपरिचित भूमिमा ऊसँग नजिक बनायो। चार दिनको सेमिनार थियो र सबैलाई एउटा न एउटा काम 'असाइन' गरिएको थियो। मेरो काम चाहिँ मान्छेको इन्ट्रीदेखि चेकिङको कुरा लेख्नुपर्ने भयो। त्यो काम म एक्लैलाई गाह्रो हुने भएपछि म्यामले 'कसले सघाउँछ प्रियंकालाई?' भनेर सोध्नुभयो। त्यही केटोले हात उठाएको थियो। चार दिनसम्म सँगै काम गर्दा हामी निकै नजिक भएका थियौँ। मनभित्र प्रेमको धुन बजे पनि फिल हुन दिएको थिइनँ। किनभने, भोलिदेखि छुट्टिनुपर्ने थियो। ऊ आफ्नो कलेज, म आफ्नो कलेज। फिल्म 'झोले'मा पनि त्यस्तै 'सिच्युएसन' रहेछ। मनभित्र प्रेम हुँदा पनि यस्तै बाध्यताले प्रस्तुत हुन नदिने। त्यतिबेला सोचेकी थिएँ, 'रिल लाइफमा मात्रै होइन, रियल लाइफमा पनि त्यस्ता सिच्युएसन आउने रहेछन्।'
प्रकाशित: २ फाल्गुन २०७० ०१:१७ शुक्रबार



