नेपाली कांग्रेस मुलुकको पुरानोमध्येकै एक राजनीतिक दल हो। यही दल अहिले सबैभन्दा धेरै आन्तरिक किचलोमा फसेको छ। किचलोकै बिचमा कांग्रेस संस्थापन पक्षले १५औं महाधिवेशन गरेको छ भने अर्को पक्ष मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ।
सम्पन्न कांग्रेस २.० को महाधिवेशनमा विधान संशोधन गरी पहिलोपटक महामन्त्री महिला पदको सिर्जना गरिएको छ। सो पदमा डिला संग्रौला निर्वाचित भएकी छन्। उनै संग्रौलासँग महाधिवेशन, पार्टीको आन्तरिक किचलो, वैधानिकता र पार्टी एकतासहितका विषयमा ‘नागरिक फ्रन्टलाइन’का लागि नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीद्वारा गरिएको कुराकानीको सम्पादित अंश:
नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री बन्नुभएको छ, यो उपलब्धिले तपाईंलाई के अनुभूति गराएको छ?
यो अवसरसँगै जिम्मेवारी पनि बढेको छ। यति पुरानो लोकतान्त्रिक पार्टीमा साथीहरूले विश्वास गरेर पहिलो महिला महामन्त्रीका रूपमा मलाई निर्वाचित गर्नुभएको छ। यसलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित गर्न चाहन्नँ। महिलाहरूलाई नेतृत्वमा पुग्न अझै कठिन रहेको अवस्थामा यो अवसरलाई परिणाममुखी बनाउनु मेरो दायित्व हो। पदमा पुग्नु एउटा कुरा हो, त्यसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु अर्को कुरा। त्यसैले पार्टीलाई कसरी रूपान्तरण गर्ने, संगठनलाई कसरी सशक्त बनाउने र जनतामा कसरी नयाँ विश्वास जगाउने भन्ने स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्छ।
कांग्रेस साँच्चिकै बदलिएको हो कि नेतृत्वमा केही अनुहार मात्र फेरिएका हुन्?
हामीले महाधिवेशनबाट वैचारिक र संगठनात्मक परिवर्तनको आधार तयार गरेका छौं। यसअघि निर्वाचनमा जाँदा पुरानै निरन्तरताको आरोप हामीमाथि लाग्यो। नयाँ दलहरूले पुराना दलले केही गरेनन् भन्ने भाष्य स्थापित गरे र जनताले त्यसलाई विश्वास गरे। हामीले घोषणापत्र र प्रतिबद्धता लिएर जाँदा पनि जनताले पत्याएनन्।
परम्पराको निरन्तरता कायम राख्दै यसपटक हामीले परिवर्तन र रूपान्तरणलाई प्राथमिकता दिइएका छौं, तर प्रस्ताव पारित गर्दैमा परिवर्तन पूरा हुँदैन। त्यसलाई व्यवहारमा उतार्नुपर्छ। जनताले कांग्रेस बदलिएको अनुभूति गर्नुपर्छ। हामीसँग असन्तुष्ट भएर टाढिएका नागरिक र अन्य दलमा गएका मतदातालाई फेरि आकर्षित गर्न हाम्रा एजेन्डा र कार्यशैली दुवै बदलिनुपर्छ।
जनताले नेता मात्र होइन, निर्णय गर्ने तरिका, नेताहरूका घेरा र पार्टी सञ्चालनको संस्कृति बदलियोस् भन्ने चाहेका छन्, त्यो परिवर्तन भयो त?
कांग्रेसमा पहिले गुट र लबीको प्रभाव धेरै थियो। यसपटक उम्मेदवारहरूले आआफ्ना धारणा र प्रतिबद्धता लिएर मतदाता–महाधिवेशन प्रतिनिधि) सँग प्रत्यक्ष सम्पर्क गरे।
पहिलेजस्तो स्पष्टरूपमा दुई क्याम्पमा विभाजित भएर अघि बढ्ने अवस्था रहेन। आफ्नो अभियान सञ्चालन गरेर निर्वाचित हुने वातावरण बन्यो र पार्टी परिर्वतन गर्ने क्रममा केन्द्रीय समितिमा युवा, पेसाकर्मी, बुद्धिजीवी र विभिन्न समुदायको प्रतिनिधित्व बढेको छ।
महाधिवेशनमा लामो समय कांग्रेसका लागि काम गरेका केही नेता तल्लो तहबाटै पराजित भए। यसलाई संगठन रूपान्तरण मान्ने कि पुराना योगदानको अवमूल्यन?
यसलाई कार्यकर्ताको मूल्यांकनका रूपमा लिनुपर्छ। पहिले केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था थियो। त्यसले गर्दा नेताहरू तल्लो तहका कार्यकर्तासँग प्रत्यक्ष जोडिनुपर्ने अवस्था कम थियो। यसपटक सबैले कार्यकर्तासँग मत माग्नुपर्यो। म आफैं पनि धेरै दिन कार्यकर्तामाझ पुगेर मत मागेपछि प्रतिनिधि बनेकी हुँ। यो अनुभवले संगठनको शक्ति कहाँ छ भन्ने बुझाउँछ। नेताले कार्यकर्तासँग जोडिनुपर्छ भन्ने माग पहिलेदेखि उठ्दै आएको थियो। अहिले त्यसको अभ्यास भएको छ। प्रतिस्पर्धामा हारजित हुन्छ। कसलाई निर्वाचित गर्ने भन्ने निर्णय कार्यकर्ताले गरेका हुन्। त्यसलाई स्वीकार गर्नुपर्छ।
समावेशी लोकतन्त्रको कुरा गर्ने कांग्रेसमा जीवन परियारहरू पराजित हुँदा पार्टीको वैचारिक चरित्रमाथि प्रश्न उठ्दैन?
प्रतिस्पर्धामा सबैले जित्छन् भन्ने हुँदैन। जीवनजी (जीवन परियार), विनोद चौधरी, फर्मुल्लाह मन्सुरसहित विभिन्न साथीहरू उम्मेदवार हुनुहुन्थ्यो। कार्यकर्ताले विनोदजीलाई रोज्नुभयो हामीले परिणाम स्वीकार गर्नुपर्छ।
जीवनजी समावेशिताको अर्थ प्रतिनिधित्वको अवसर सुनिश्चित गर्नु हो। कांग्रेसले महिला, दलित, सीमान्तकृत समुदाय र पछाडि परेका वर्गलाई नेतृत्वमा पुग्ने अवसर दिनुपर्छ। उनीहरूलाई जिम्मेवारी र निर्णय प्रक्रियामा वास्तविक स्थान दिनुपर्छ भने विधानमा त्यसको व्यवस्था गरेको छ।
बिपी कोइरालासहितका नेताले जात, भूगोल र लिंगका आधारमा राजनीति गर्नुभएन तर सबैलाई समेट्ने अभ्यास गर्नुभयो अहिले पहिचान र प्रतिनिधित्वलाई छुट्टाछुट्टै समूहमा बाँडिएको छ, व्यवहारमा भने अर्को छ होइन?
पहिलेको सामाजिक र राजनीतिक परिस्थिति अहिलेभन्दा फरक थियो। बिपीले द्वारिकादेवी चन्द ठकुरानी र धनमानसिंह परियारजस्ता व्यक्तिलाई नेतृत्वमा ल्याउनुभएको थियो। अहिले विभिन्न समुदायले आफ्नो पहिचानसँगै भूमिका र जिम्मेवारी पनि खोजिरहेका छन्।
कुनै समुदायले आफ्नो प्रतिनिधित्व छैन भन्ने महसुस गरे भने उसले पार्टीले आफ्नो मुद्दा बोक्दैन भन्ने ठान्न सक्छ। त्यसैले समावेशी प्रतिनिधित्व आवश्यक भएको हो। हामीले समय र परिस्थितिअनुसार विधान परिमार्जन गरेका छौं।
कांग्रेसले जात, धर्म र क्षेत्रको राजनीति गर्दै छ?
हाम्रो उद्देश्य समाजलाई विभाजित गर्नु होइन, सबैलाई पार्टीभित्र अपनत्व दिलाउनु हो। कांग्रेस सबैको साझा पार्टी बन्नुपर्छ। कुनै समुदायले आफू बाहिर परेको महसुस गर्न नपरोस् भन्नेमा ध्यान दिनुपर्छ।
पहिला महिला पदाधिकारीको व्यवस्था र पदाधिकारीको संख्या बढाउने कुरा गर्दा विरोध गर्ने नेताहरू अहिले आफूलाई अनुकूल हुँदा त्यही व्यवस्था गरी नेता व्यवस्थापन गर्दै गर्दा सैद्धान्तीकरण गरिरहेको आरोप छन्?
राजनीतिमा सिद्धान्त र एजेन्डा मात्र पर्याप्त हुँदैनन्, व्यवस्थापन पनि महत्वपूर्ण हुन्छ। विगतमा विभिन्न समूह र धारबिच उचित व्यवस्थापन हुन नसक्दा असन्तुष्टि बढेको थियो। त्यसले पार्टीभित्र द्वन्द्व निम्त्यायो। महिलाहरू प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्न नसक्ने अवस्था थियो। पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था नभएको भए म यो स्थानमा पुग्थें कि पुग्दिनथें भन्ने प्रश्न स्वाभाविक छ। त्यसैले समयको मागअनुसार व्यवस्था परिवर्तन गरिएको हो।
पहिला तपाईं नै विशेष महाधिवेशनको विपक्षमा हुनुहुन्थ्यो, पद पाउने भएपछि जोडिनुभयो होइन?
हामी नियमित महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा थियौं। विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो। नियमित महाधिवेशन प्रक्रिया अघि नबढेपछि हामी विशेष महाधिवेशनमा सहभागी भयौं। हामीले त्यसलाई नीति अधिवेशनका रूपमा अघि बढाउने विषयमा पनि नेतृत्वसँग छलफल गरेका थियौं। त्यसमा सकारात्मक निकास ननिस्किएपछि हामी विशेष महाधिवेशनमा सहभागी भयौं।
त्यसपछि कांग्रेस विभाजित अवस्थामा पुग्यो होइन?
हाम्रो उद्देश्य पार्टीलाई विभाजित गर्नु थिएन। सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्न सकियोस् भन्ने चाहना थियो, तर परिस्थितिले त्यो बाटो दिएन।
विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ तपाईहरू आआफ्नो बाटोमा अघि बढिसक्नुभयो?
निर्वाचन आयोगले हामीलाई मान्यता दिएको छ। महाधिवेशन सम्पन्न भइसकेको छ र हामी नयाँ नेतृत्वका रूपमा अघि बढेका छौं। त्यसैले हाम्रो ध्यान अब आगामी काममा केन्द्रित हुनुपर्छ। यस विषयमा थप विवाद र टीकाटिप्पणी गरेर पार्टीलाई पछाडि फर्काउन चाहन्नँ। हामी नयाँ चरणमा प्रवेश गरिसकेका छौं। आगामी बाटो तय गर्नु अहिलेको प्राथमिकता हो। मुद्दा त संसद् पुनस्र्थापनाको पनि छ, तर अब अदालतले कांग्रेस विवादमा केही गर्दैन। हामी नै आधिकारिक हौं।
तर कानुनी प्रक्रिया बाँकी छ भने त्यसलाई राजनीतिक निष्कर्षका आधारमा मात्र समाप्त भएको भन्न मिल्छ?
राजनीतिक र संगठनात्मक रूपमा हामी अघि बढिसकेका छौं। हामीले महाधिवेशन सम्पन्न गरेर नेतृत्व चयन गरिसकेका छौं। महाधिवेशन नगर्दासम्म केही आशंका थिए अब त्यो पनि समाप्त भएको छ। अब पार्टी सञ्चालन र जनताको विश्वास फर्काउने काममा लाग्नुपर्छ।
शेरबहादुर देउवासहितका विरासत बोकेका नेताबिनाको महाधिवेशन अलि खल्लो लागेन? कांग्रेसको इतिहास र विरासत बोकेको नेतृत्वबिना नयाँ कांग्रेस कति बलियो हुन्छ?
शेरबहादुर देउवाको नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको विस्तारमा महत्वपूर्ण योगदान छ। उहाँले लामो राजनीतिक यात्रा गर्नुभएको छ। उहाँलाई सम्मानजनक रूपमा बिदाइ गर्न सकिएको भए राम्रो हुन्थ्यो। महाधिवेशनमा उहाँका लागि कुर्सी खाली राखिएको थियो।
हामी उहाँ आउनुहोस् भन्ने चाहन्थ्यौं, तर समय सधैं एउटै रहँदैन। एउटा पुस्तापछि अर्को पुस्ता नेतृत्वमा आउँछ। पुस्तान्तरण राजनीतिको स्वाभाविक प्रक्रिया हो। उहाँजस्तो अनुभवी नेताले पार्टीलाई एकताबद्ध बनाउन अभिभावकीय भूमिका खेल्न सक्नुहुन्छ। उहाँसँग असहमति भए पनि योगदानको सम्मान गर्नुपर्छ।
उहाँहरू त आफैं महाधिवेशनको तयारीमा हुनुहुन्छ, यस्तो अवस्थामा एकताको जिम्मेवारी नयाँ नेतृत्वले लिनुपर्दैन?
सभापति गगन थापाले संवादको पहल गर्नुपर्छ। अहिले उहाँ पार्टी सभापति बन्नुभएको छ। सबै पक्षसँग उहाँले छलफल गरेर असन्तुष्ट भएर बाहिर रहेका नेताहरूलाई फर्कने वातावरण बनाउनुपर्छ। संवाद कहिल्यै ढिलो हुँदैन।
विगतमा पनि छलफलबाट साथीहरू फर्किएका छन्। अहिले पनि पार्टीलाई एकताबद्ध बनाउन पहल गर्न सकिन्छ। र, विस्तारै बाँकी साथीहरू पनि आउनुहुन्छ।
तर एउटा पक्षले एउटा कार्यालय र अर्को पक्षले अर्को कार्यालयबाट गतिविधि गरिरहेको छ, दुवैले कांग्रेसकै नाम र चुनाव चिह्न प्रयोग गरिरहेका छन्, यसलाई सामान्य असन्तुष्टि मात्र मान्न सकिन्छ?
पार्टी एकताबद्ध हुनुपर्छ। हाम्रो दृष्टिमा सानेपास्थित कार्यालय नै नेपाली कांग्रेसको आधिकारिक कार्यालय हो। विधान र संवैधानिक व्यवस्थाअनुसार हामी हौं।
भनेपछि केही नेताहरूलाई बिस्तारै समेट्ने, सबैलाई नल्याउने? यसले कांग्रेसको आन्तरिक विवादको समाधान अझै टाढा पु¥याएको छ, होइन?
नयाँ नेतृत्वले सबैको आवाज सुन्नुपर्छ, तर संगठन सञ्चालनका लागि विधान र निर्णय प्रक्रिया पनि आवश्यक हुन्छ। असहमति समाधान गर्ने क्रममा विधि र संस्थागत प्रक्रियालाई कमजोर बनाउनु हुँदैन।
कांग्रेसले पछिल्लो तीन दशकमा धेरै समय सरकारको नेतृत्व ग¥यो तर जनताले पुराना दलले केही गरेनन् भन्ने निष्कर्ष किन निकाले ?
कांग्रेसले देशका लागि धेरै काम गरेको छ, तर पछिल्लो समय राजनीति जनताभन्दा सत्ताकेन्द्रित हुँदै गयो। निर्वाचनमा कुनै दलको स्पष्ट बहुमत नआउने अवस्था बनेपछि सरकार बनाउन र टिकाउन गठबन्धन आवश्यक भयो। गठबन्धन फेरिरहने प्रवृत्तिले राजनीतिक स्थिरता र जवाफदेहितामा असर पार्यो। कांग्रेस र एमालेजस्ता ठुला दलसमेत एकै ठाउँमा आएपछि सत्तापक्ष र प्रतिपक्षबिचको स्पष्ट भिन्नता कमजोर भयो।
जनताले सरकारका कामको प्रभावकारी मूल्यांकन र प्रतिपक्षबाट सशक्त निगरानीको अपेक्षा गरेका थिए तर राजनीति सत्ताको समीकरणमा केन्द्रित भयो। जनताका समस्या, रोजगारी, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता विषय पर्याप्त प्राथमिकतामा परेनन्। त्यसैले जनतामा असन्तुष्टि बढ्यो। नयाँ दलहरूले त्यही असन्तुष्टिलाई आफ्नो राजनीतिक भाष्य बनाए। हामीले जनताको असन्तुष्टि स्वीकार गर्नुपर्छ र आफ्नो कार्यशैली सच्याउनुपर्छ।
कांग्रेसको नेतृत्वमा रहेका तपाईंहरू पनि जिम्मेवार हुनुहुन्छ, केन्द्रीय सदस्यका रूपमा आफ्नो हिस्साको जिम्मेवारी लिनुहुन्छ?
पार्टीले गरेका निर्णय र कमजोरीको जिम्मेवारीबाट म अलग हुन सक्दिनँ। पार्टीमा कमजोरी भएका छन् भन्ने कुरा हामीले स्वीकारेका छौं। परिवर्तनका लागि आवाज उठाउने नेताहरू पनि पार्टीभित्र थिए, तर तत्कालीन केन्द्रीय समितिमा हाम्रो पक्ष अल्पमतमा थियो। हामीले उठाएका आवाजले निर्णयको रूप लिन सकेनन्। त्यसका बाबजुद पार्टीको सामूहिक जिम्मेवारीबाट हामी पूर्णरूपमा अलग हुन मिल्दैन।
सत्ता र शक्तिमा पुगेपछि जनतासँग टाढियो र गर्न सकिएन भन्नेचाहिँ छैन?
हामीले विगतका अनुभवबाट सिकेका छौं। संगठनको तल्लो तहबाट काम गरेर आएका नेताहरूले जनताका समस्या बुझ्नुपर्छ। सत्ता प्राप्त गर्नु नै राजनीतिको अन्तिम उद्देश्य होइन। जनताको जीवनमा परिवर्तन ल्याउनु मुख्य उद्देश्य हो।
तत्कालीन पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा आक्रमण भयो, त्यही समयमा विशेष महाधिवेशन गरेर उहाँमाथि अर्को राजनीतिक प्रहार गरेको आरोप छ?
उहाँमाथि भएको हातपात अत्यन्त दुःखद् र पीडादायी घटना थियो। हामीलाई पनि त्यसले दुःखी बनाएको थियो। कुनै पनि राजनीतिक असन्तुष्टि हिंसाबाट व्यक्त हुनु हुँदैन तर त्यसपछिको राजनीतिक परिस्थितिको निकास निर्वाचनबाट खोज्नुपर्छ भन्ने हाम्रो धारणा थियो। विद्रोह र आन्दोलनपछि मुलुकलाई संवैधानिक प्रक्रियामा फर्काउनु आवश्यक थियो।
संविधान कमजोर हुने वा अर्को द्वन्द्व निम्तिने अवस्था नआओस् भन्नेमा हामी सचेत थियौं। नियमित महाधिवेशन समयमा नहुने भएपछि हामी विशेष महाधिवेशनमा सहभागी हुने निर्णयलाई व्यक्तिगत रूपमा कसैप्रतिको प्रहारका रूपमा मात्र हेर्नु उचित हुँदैन। पार्टीभित्र परिवर्तन आवश्यक छ भन्ने निष्कर्षका आधारमा गरेका हौं।
जनताले नेता होइन कार्यशैलीमा परिर्वतन खोजेका रहेछन् भन्ने त निर्वाचनले देखायो होइन?
हामीले जनतालाई बुझाउने प्रयास गर्यौं तर उनीहरूमा पुरानो असन्तुष्टि गहिरो थियो। हामी घोषणापत्र र प्रतिबद्धता लिएर गयौं, तर जनताले त्यसप्रति पर्याप्त चासो देखाएनन्। नयाँ नेतृत्व नआएको भए प्राप्त परिणाम पनि फरक हुन सक्थ्यो तर त्यसलाई मात्रै सफलताको आधार मान्न मिल्दैन। पार्टीले विगतमा गरेका कमजोरी सच्याउन समय र निरन्तर काम आवश्यक छ। जनताले भाषण होइन, व्यवहार र परिणाम हेर्छन्। अब हामीले त्यो अपेक्षापूरा गर्नुपर्छ।
नयाँ नेतृत्वले विगतको असफलताको जिम्मेवारी अरूमाथि थोपर्ने र आफूलाई परिवर्तनको पक्षधर मात्र देखाउने?
यो सामूहिक जिम्मेवारी हो हामी सबैले लिनुपर्छ। हामीले विगतमा कहाँ कमजोरी गर्यौं भन्ने स्वीकारेर सुधारको बाटो लिनुपर्छ। अब हामीले जनतालाई विश्वास दिलाउनुपर्छ कि कांग्रेसले आफ्नो कार्यशैली बदलेको छ। नेतृत्वले योजना बनाउने र कार्यकर्ताले त्यसलाई जनतासम्म पुर्याउने मात्र होइन, जनताका समस्या सुनेर निर्णय प्रक्रियामा समावेश गर्ने व्यवस्था पनि गर्नुपर्छ।
सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका धेरै कुरा भएका छन्, कांग्रेसभित्र आर्थिक पारदर्शिता कस्तो छ? महाधिवेशनमा कति खर्च भयो?
महाधिवेशनमा आर्थिक प्रतिवेदन पनि पेस भएको थियो। त्यो सबै कोषाध्यक्षलाई थाहा हुन्छ। उहाँले नै सबै गर्नुभएको हो।
लोकतान्त्रिक पार्टीमा आर्थिक पारदर्शिताको कुरा आउँछ होला नि ? विशेष महाधिवेशन, निर्वाचन र महाधिवेशनमा कति खर्च भयो कहाँबाट पैसा जोहो गर्नुभयो?
छलफल हुन्छ। म त महामन्त्रीमा बल्ल आए बुझ्नै पाएको छैन।
तपाईं यसअघि पनि सहमहामन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो होइन? अबको पार्टीको कोषाध्यक्ष अहिलेकै कोषाध्यक्ष उमेश श्रेष्ठ नै हो?
हो। उहाँ नै हो।
अहिलेको सरकारको कामलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ?
महँगी बढेको छ, रोजगारीका समस्या छन्। भ्रष्टाचारका फाइल खोल्ने भनिएको थियो, त्यसको प्रगति के भयो भन्ने प्रश्न छ। विदेश जान नपर्ने अवस्था बनाउने कुरा गरिएको छ तर नेपालमा रोजगारीका सिर्जना गर्ने काम भएको छैन।
यी विषयमा सरकारले जवाफ दिनुपर्छ। हामी हरेक कुरामा विरोध गर्ने पक्षमा छैनौं। सरकारले राम्रो काम गर्छ भने समर्थन गर्छौं र गलत गर्छ भने विरोध गर्दछौं। बाढीपहिरोजस्ता विपद् र राष्ट्रिय एकतासँग जोडिएका विषयमा हामीले सरकारलाई सहयोग गरेका छौं।
कांग्रेसले अब निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने नै हो?
हामी गठबन्धनको राजनीति छाडेर अघि बढ्न चाहन्छौं। कांग्रेस आफ्नै पहिचान र चुनाव चिह्नमा निर्वाचन लड्नुपर्छ। जित्नका लागि अर्को दलको चुनाव चिह्नमा मत हाल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। हामी हार्न तयार छौं, तर आफ्नो राजनीतिक पहिचान कमजोर पारेर गठबन्धन गर्ने पक्षमा छैनौं।
कांग्रेसले आफ्नै संगठन, नीति र उम्मेदवारका आधारमा जनताको मत प्राप्त गर्नुपर्छ। गठबन्धनले तत्कालीन रूपमा सत्ता प्राप्त गर्न सहयोग गरे पनि दीर्घकालमा पार्टी संगठन र जनतासँगको सम्बन्ध कमजोर बनाउन सक्छ।
गठबन्धन नगर्ने घोषणा गरेर मात्र चुनाव जितिन्छ? अहिलेकै अवस्थामा कांग्रेसले स्थानीय चुनावमा कति जित्छ?
उम्मेदवार चयनमा लोकप्रियता र जनतासँगको सम्बन्धलाई आधार बनाउनुपर्छ। स्थानीय तहमा जनताले काम गर्ने व्यक्ति खोज्छन्। त्यसैले उम्मेदवार छान्दा उसको स्थानीय उपस्थिति, काम र जनविश्वासलाई प्राथमिकता दिनुपर्छ।
हामीले निर्वाचन ब्युरो गठन गरेका छौं। विधानमा त्यसको व्यवस्था छ। उम्मेदवार चयनका लागि प्राथमिक निर्वाचन अर्थात् प्राइमरी इलेक्सनको विधिबाट अघि बढ्ने सोच छ। लोकप्रिय उम्मेदवारलाई अवसर दिनुपर्छ। कांग्रेसले सबै ठाउँमा उम्मेदवारी दिन्छ, तर उम्मेदवार चयनमा पारदर्शिता र प्रतिस्पर्धा हुनुपर्छ। कसैको निकटता वा गुटका आधारमा टिकट वितरण गर्ने प्रवृत्ति दोहोरिनु हुँदैन।
युवा पुस्ताको सहभागिता बढेको बताउनुभयो तर नयाँ पुस्ता कांग्रेसबाट टाढिएका छन्, उनीहरूलाई फर्काउन २१ जना युवा केन्द्रीय समितिमा आउनु पर्याप्त हुन्छ?
२१ जना युवा केन्द्रीय समितिमा आउनु सुरुवात हो। उनीहरूको सहभागिता केन्द्रीय समितिमा मात्र सीमित हुनु हुँदैन। पार्टीका सबै तहमा युवालाई जोड्नुपर्छ। युवा पुस्ताले कांग्रेसको विचार, इतिहास र राजनीतिक उद्देश्य बुझ्नुपर्छ। त्यसका लागि प्रशिक्षण आवश्यक छ तर उनीहरूलाई पुराना कुरा सुनाएर मात्र आकर्षित गर्न सकिँदैन। उनीहरूका मुद्दा र अपेक्षालाई पार्टीले सम्बोधन गर्नुपर्छ।
रोजगारी, अवसर, सुशासन र नेतृत्वमा सहभागिताका विषयमा युवाले स्पष्ट जवाफ खोजिरहेका छन्। पार्टीले उनीहरूलाई जिम्मेवारी दिनुपर्छ र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ। युवा पुस्ताले कांग्रेस मेरो पनि पार्टी हो भन्ने अनुभूति गर्न सक्नुपर्छ। त्यसमा हामी लाग्छौं।
नेपाल विद्यार्थी संघ र तरुण दलजस्ता भ्रातृ संगठनका लामो समयदेखि महाधिवेशन हुन सकेको छैन, कसरी प्रभावकारी हुने अनि कसले पत्याउने भन्यो भने?
भ्रातृ संस्थाहरूको अधिवेशन फागुनमा गर्ने तयारी छ। पार्टी महाधिवेशन सम्पन्न भएपछि ती संस्थाले पनि आफ्नो संगठनात्मक प्रक्रिया अघि बढाउनुपर्छ। विद्यार्थी र युवा संगठन निष्क्रिय रहँदा कांग्रेसको नयाँ पुस्तासँगको सम्बन्ध कमजोर हुन्छ। त्यसैले उनीहरूलाई सक्रिय बनाउनुपर्छ। संगठनमा नयाँ नेतृत्व आउनुपर्छ र नियमित गतिविधि सञ्चालन हुनुपर्छ।
तपाईंको भूमिका सभापतिको निर्णयमा समर्थन गर्ने मात्र हुनेछ कि गलत निर्णय भए असहमति पनि राख्नुहुन्छ?
महामन्त्री कार्यकारिणी जिम्मेवारी भएको पद हो। यसको काम बोल्ने मात्र होइन, निर्णय कार्यान्वयन गराउने पनि हो। पार्टीका विभिन्न विचार र समूहबाट मलाई समर्थन प्राप्त भएको छ। ती सबैको भावना केन्द्रीय समितिमा प्रतिनिधित्व गराउनु मेरो जिम्मेवारी हो।
सभापतिसँग सहकार्य गरेर काम गर्न चाहन्छु, तर पार्टीभित्र उठेका फरक आवाजलाई बेवास्ता गरियो भने तिनलाई सम्बोधन गर्न दबाब दिनु पनि मेरो जिम्मेवारी हुन्छ।
तपाईंको विचारअनुसार काम भएन भने सभापतिसँग विद्रोह गर्नुहुन्छ?
अहिल्यै त्यस्तो प्रश्न उठाउनु उचित हुँदैन। पार्टीको काम सुरु नै भएको छैन। सुरुवातमै सभापतिमाथि शंका गरेर अघि बढ्नु हाम्रो भूमिका होइन। हाम्रो भूमिका फरक विचारलाई जोड्ने, छलफल गराउने र निर्णय कार्यान्वयन गराउने हो, तर पार्टी परिवर्तनको जगमा उभिएको छ। त्यसअनुसार काम हुनुपर्छ। जिम्मेवारीमा पुगेपछि सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।
महामन्त्रीका रूपमा तपाईंको प्राथमिकता के हुने छ?
संगठनलाई सशक्त र आधुनिक बनाउनु हो। डिजिटल कांग्रेसको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। पार्टीले गरेका निर्णय, नीति र कार्यक्रम तल्लो तहका कार्यकर्तासम्म पुर्याउने एकद्वार प्रणाली विकास गर्नुपर्छ। समावेशी सहभागिता बढाउनुपर्छ। महिला, दलित, सीमान्तकृत समुदाय र युवालाई नेतृत्वमा ल्याउनुपर्छ। सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई व्यवहारमा उतार्नुपर्छ। असन्तुष्ट भएर टाढिएका नेता, कार्यकर्ता र मतदातासँग सम्बन्ध सुधार्नुपर्छ।
महाधिवेशनमा राजनीतिक र संगठनात्मक प्रस्ताव पारित भए पनि प्रतिनिधिहरूले ती प्रस्तावमाथि पर्याप्त छलफल गर्न पाएनन् भन्ने गुनासो छ, नीति निर्माण प्रक्रियामै कमजोरी भएको होइन?
महाधिवेशनको समय छोटो थियो। विभिन्न प्रतिवेदन प्रस्तुत भए, तर ती प्रतिवेदनमाथि व्यापक छलफल गर्ने र प्रतिनिधिका सुझावअनुसार परिमार्जन गर्ने पर्याप्त समय भएन।
हजारौं प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विचारलाई व्यवस्थित रूपमा छलफल गराउन कठिनाइ भयो। त्यसैले नीतिगत विषयमा अझ व्यापक छलफल आवश्यक छ भन्ने स्वीकार गर्नुपर्छ।
महिला महामन्त्रीका रूपमा महिलाका मुद्दामा मात्र केन्द्रित हुनुहुन्छ कि समग्र पार्टीको नेतृत्वमा भूमिका निर्वाह गर्नुहुन्छ?
महामन्त्रीको जिम्मेवारी समग्र पार्टीसँग सम्बन्धित छ। महिला महामन्त्रीको व्यवस्था महिलालाई नेतृत्वमा पुग्ने अवसर दिनका लागि गरिएको हो। त्यसैले महिला सहभागिता र नेतृत्व विकास मेरो प्राथमिकतामा रहनेछ।
स्थानीय तहमा महिलालाई नेतृत्वको अवसर दिनुपर्छ। उनीहरूलाई प्रमुख पदमा उम्मेदवार बनाउने विषयमा पनि पार्टीले ध्यान दिनुपर्छ, तर मेरो भूमिका महिलामा मात्र सीमित हुँदैन। युवा पुस्ता, विभिन्न समुदाय र सबै उमेर समूहलाई कांग्रेससँग जोड्नु आवश्यक छ।
पाँच वर्षपछि कांग्रेसप्रति जनताको विश्वास फर्काउन सकिएन भने त्यसको जिम्मेवारी कसले लिन्छ?
हामी विश्वास फर्काउन सक्छौं भन्नेमा आशावादी छौं, तर त्यसका लागि काम गर्नुपर्छ। जनता कुनै पार्टीका स्थायी मतदाता होइनन्। उनीहरू पार्टीको कार्यशैली, नीति र कामबाट आकर्षित हुन्छन्। कांग्रेसले संगठनलाई आधुनिक बनाउनुपर्छ, जनताका समस्या सुन्नुपर्छ र आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ।
डिजिटल माध्यमबाट मात्र होइन, जनताका घरदैलोमा पुगेर पनि काम गर्नुपर्छ। हामीले कांग्रेस बदल्यौं भने देश बदल्ने एजेन्डा अघि बढाउन सक्छौं। जनताले हामीलाई विश्वास गरून् भन्ने चाहना मात्र पर्याप्त हुँदैन, त्यो विश्वास जित्नुपर्छ। अबको हाम्रो अभियान त्यही हुनेछ।
प्रकाशित: ३० आश्विन २०८३ ०८:२८ शुक्रबार



