फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार (आज) बिहान चिनियाँ समकक्षी सी जिनपिङसँग भेट गरेका छन्। फ्रान्सले आउँदो वर्ष जी–७ समूहको अध्यक्षता सम्हाल्ने तयारी गरिरहेको बेला चीन र फ्रान्सबिच महत्त्वपूर्ण भेट भएको हो। व्यापार र कूटनीतिमा केन्द्रित तीन दिने राजकीय भ्रमणका क्रममा युक्रेन युद्ध तथा व्यापारसहित विश्वव्यापी मुद्दामा चर्चा भएको छ।
अमेरिकाको नेतृत्वमा रहेको शान्ति योजना वरिपरि हालै भएको कूटनीतिक विवादपछि म्याक्रोनले युक्रेनसँग युद्धविरामका लागि रुसलाई दबाब दिन बेइजिङलाई संलग्न गराउन खोजेका छन्।
‘हामी दशकौँदेखि विश्वमा शान्ति ल्याएको अन्तर्राष्ट्रिय व्यवस्थाको विघटनको जोखिमको सामना गरिरहेका छौँ, र यस सन्दर्भमा, चीन र फ्रान्स बिचको संवाद पहिलेभन्दा अझ बढी आवश्यक छ,’ म्याक्रोनले बिहीबार भने।
‘मलाई आशा छ कि चीन हाम्रो आह्वानमा सामेल हुनेछ। हाम्रो प्रयासमा, सकेसम्म चाँडो कम्तीमा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी हुने हमलाहरूमा रोकको रूपमा युद्धविराम हासिल गर्न सकिनेछ,’ उनले भने।
सीले म्याक्रोनको आह्वानको जवाफ दिएनन्। तर उनले भने, ‘चीनले शान्तिको लागि काम गर्ने सबै प्रयासहरूलाई समर्थन गर्दछ।’ उनले सबै पक्षहरूले स्वीकार गर्ने शान्ति सम्झौताको लागि आह्वान गरेका छन्।
युक्रेनमा आक्रमण गरेदेखि नै चीनले रुसलाई बलियो कूटनीतिक समर्थन प्रदान गर्दै आएको छ। व्यापार बढाएर आर्थिक संकटबाट पनि मस्कोलाई बचाउन सहयोग गरेको छ। भेटमा सीले गाजामा जारी मानवीय संकटलाई समाधान गर्न, त्यस क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्न चीनले १० करोड उपलब्ध गराउने घोषणा गरेका छन्।
सीले प्रत्येक पक्षको ‘स्वतन्त्रता’ प्रदर्शन गर्दै एक अर्कालाई समर्थन देखाएर फ्रान्ससँग अझ बढी राजनीतिक विश्वास निर्माण गर्न आह्वान गरेका थिए।
‘बाह्य वातावरण जतिसुकै परिवर्तन भए पनि प्रमुख शक्तिको रूपमा दुवै पक्षले सधैँ स्वतन्त्रता र रणनीतिक दृष्टिकोण प्रदर्शन गर्नुपर्छ। महत्त्वपूर्ण मुद्दाहरूमा एक अर्कालाई पारस्परिक समझदारी र पारस्परिक समर्थन देखाउनुपर्छ,’ उनले भने।
‘चीन र फ्रान्सले आफ्नो जिम्मेवारीको भावना प्रदर्शन गर्नुपर्छ। बहुपक्षीयताको झण्डामाथि उठाउनुपर्छ। इतिहासको सही पक्षमा दृढतापूर्वक उभिनुपर्छ,’ उनले थपे।
दुवै देश थप व्यापारका लागि उत्सुक देखिए।
बिहीबारको कार्यसूचीको अर्को प्रमुख केन्द्रबिन्दु व्यापार थियो। संयुक्त उपस्थितिका क्रममा दुवै पक्ष हवाई यान, हवाई यात्रा, परमाणु ऊर्जा, साथै हरित उद्योग र कृत्रिम बुद्धिमत्ता जस्ता नयाँ क्षेत्रहरूमा बृहत् आर्थिक सहयोगका लागि काम गर्न सहमत भएका छन्।
उनीहरूले बाह्र सम्झौतामा हस्ताक्षर गरे, जसमा पाण्डा संरक्षण प्रयासहरूको नयाँ चरणमा सहयोग र उच्च शिक्षा तथा अनुसन्धानमा आदानप्रदानका लागि आह्वान गर्ने सम्झौताहरू पनि समावेश छन्।
युरोपेली संघले चीनसँग ठुलो व्यापार घाटा बेहोरिरहेको छ। गत वर्ष तीन खर्ब युरोभन्दा बढी थियो। फ्रान्सको कुल व्यापार घाटाको ४६ प्रतिशत चीनले मात्र ओगटेको छ।
फ्रान्स र युरोपेली संघले चीनलाई एकैसाथ साझेदार, प्रतिस्पर्धी र प्रणालीगत प्रतिद्वन्द्वीको रूपमा वर्णन गरेका छन्। युरोपेली संघले चिनियाँ विद्युतीय सवारी साधन अनुदानको अनुसन्धान गरेपछि र चीनले युरोपेली ब्रान्डी, सुँगुरको मासु र दुग्धजन्य पदार्थको आयातमा अनुसन्धान गरेपछि हालैका वर्षहरूमा विभिन्न उद्योगहरूमा व्यापार विवादहरू देखा परेका छन्।
तर फ्रान्सले जुलाईमा धेरैजसो कोग्नाक उत्पादकहरूलाई छुट पाउन सफल भयो। आफैँ आर्थिक मन्दीको सामना गरिरहेको चीनले पनि थप व्यवसाय चाहने संकेत गरेको छ।
‘चीनको खुला ढोका अझ फराकिलो हुनेछ,’ सीले भने। उनले भने अनुसार चीनले ‘बजार पहुँच विस्तार गर्ने, र लगानीका क्षेत्रहरू खोल्ने’ योजना बनाएको छ। साथै, ‘औद्योगिक तथा आपूर्ति शृङ्खलाहरूको सीमापार, व्यवस्थित र तर्कसंगत रूपरेखालाई मार्गदर्शन गर्ने’ योजना पनि बनाएको उनले सुनाए।
सीले दुवै पक्षलाई चीन र युरोपेली संघबिच पारस्परिक रूपमा लाभदायक सहयोगलाई निरन्तर प्रवर्द्धन गर्न पनि आह्वान गरेका थिए।
कतिपयले द्विपक्षीय सम्झौताहरूले युरोपेली संघलाई कमजोर बनाउन सक्ने तर्क गरेका छन्। बेइजिङले यो भ्रमणलाई युरोपको सबैभन्दा महत्त्वपूर्ण अर्थतन्त्रहरू मध्ये एकसँगको आफ्नो व्यक्तिगत सम्बन्धलाई बलियो बनाउन प्रयोग गर्ने अपेक्षा विज्ञको छ।
‘चीनले व्यक्तिगत युरोपेली संघ सदस्यहरूसँग द्विपक्षीय सम्झौता गरेर यस युरोपेली संघ दृष्टिकोणमा फाटो ल्याउन खोज्छ,’ एसिया सोसाइटीको विदेश नीति र राष्ट्रिय सुरक्षाका वरिष्ठ फेलो लाइल मोरिसले भने।
म्याक्रोन र उनकी श्रीमती ब्रिगिट म्याक्रोन बुधबार साँझ बेइजिङ पुगेका हुन्।
बिहीबार बिहान म्याक्रोनलाई बेइजिङमा सैन्य ब्यान्ड र झण्डा फहराउँदै बालबालिकाको समूहले स्वागत गर्यो। दुई नेताहरू आज नै फ्रान्स–चीन व्यापार मञ्चको समापन समारोहमा सहभागी भए। म्याक्रोनको एजेन्डामा राष्ट्रिय जन कांग्रेसका अध्यक्ष झाओ लेजी र चिनियाँ प्रधानमन्त्री ली छियाङसँगको भेटघाट पनि समावेश छ। त्यसपछि फ्रान्सेली राष्ट्रपति दम्पती चीनको सिचुआन प्रान्तको चेङ्दुको यात्रामा जानेछ।
चेङ्दुमा विशाल पाण्डाको संरक्षण र अनुसन्धान केन्द्र पनि छ। त्यहाँ फ्रान्समा जन्मेका र प्रथम महिला ब्रिगिट म्याक्रोनले नामकरण गरेका पहिलो विशाल पाण्डा युआन मेङ अहिले बस्दै आएका छन्। फ्रान्सले गत महिना १३ वर्षसम्म देशमा बसेर तीन वटा बच्चा जन्माएका केही विशाल पाण्डाहरू चीनलाई फिर्ता पठाएको थियो। एपी
प्रकाशित: १८ मंसिर २०८२ १४:१२ बिहीबार



