लगभग दुई हप्तासम्म चलेको तीव्र बमबारीपछि अमेरिकी सेनाले इरानमाथिको हवाई आक्रमण हालका लागि रोकेको छ।
अमेरिकाले पूर्ण युद्धको भयावह अवस्थालाई रोक्नका लागि अहिले कूटनीतिक प्रयासहरूलाई अगाडि बढाइएको छ। यद्यपि, पाँच महिनाको नजिक पुग्दै गरेको यो द्वन्द्वले निर्णायक मोड लिन सकेको छ कि छैन भन्नेबारे अहिले नै स्पष्ट भइसकेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबाट थप हमला हुन सक्ने चेतावनी दिए पनि वार्ता अझै जारी रहेको बताएका छन्। यसरी लडाइँका कारण बढ्दो ग्यासको मूल्यले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा सत्तारुढ रिपब्लिकन पार्टीलाई असर पार्न सक्ने चिन्तालाई उनले बेवास्ता गरेका छन्।
यो पनि पढ्नुहोस्
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
यस अनिश्चितताबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको वाशिंगटन भ्रमणको तयारी पनि भइरहेको छ। फेब्रुअरी २८ देखि अमेरिकासँगै युद्ध सुरु गरेको इजरायल, इरानले होर्मुज जलमार्गमा लगाएको नाकाबन्दीलाई लिएर हालै भएका नयाँ अमेरिकी आक्रमणहरूमा भने प्रत्यक्ष रूपमा संलग्न देखिएको छैन। होर्मुज जलमार्ग एक अति महत्त्वपूर्ण ढुवानी मार्ग हो, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्छ।
वाशिंगटन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीका प्रबन्ध निर्देशक माइकल सिंह भन्छन्, ‘इरानीहरूले यो बुझेका छन् कि इजरायल पनि पूर्ण रूपमा द्वन्द्वमा होमियो भने परिस्थिति अझै भयानक बन्न सक्छ।’ अर्कोतर्फ, इजरायलको हालको मौनताले इरानीहरूलाई हामी यो द्वन्द्वलाई निश्चित दायराभित्रै सीमित गर्न चाहन्छौं भन्ने स्पष्ट संकेत दिएको हुनसक्ने उनको भनाइ छ।
जर्ज डब्लु बुश प्रशासनको समयमा राष्ट्रिय सुरक्षा परिषद्का मध्यपूर्वका वरिष्ठ निर्देशक रहिसकेका सिंहले लडाइँ केही समयका लागि शान्त हुँदैमा यसको दीर्घकालीन अर्थ निकाल्न हतारो हुने बताए। उनले थपे, ‘यदि यो विराम केही दिनभन्दा लामो समयसम्म टिक्यो भने मात्र यो अर्थपूर्ण साबित हुनेछ। तर अहिले नै यो कुनै नियमित सैन्य विराम हो वा पर्दा पछाडिको कूटनीतिक प्रयासका लागि गरिएको समयको सदुपयोग हो भन्ने छुट्याउन गाह्रो छ।’
मध्यस्थताको प्रयासमा संलग्न एक क्षेत्रीय अधिकारीले संयुक्त कूटनीतिक प्रयासहरू निरन्तर चलिरहेको जानकारी दिएका छन्। उनका अनुसार अमेरिकी सेनालाई आश्रय दिने छिमेकी राष्ट्रहरूमा आक्रमण र इरानी प्रतिहमला रोकिनु तनाव कम गर्ने दिशामा एक सकारात्मक संकेत हो। ती अधिकारीले नाम नबताउने सर्तमा अमेरिका र इरान दुवै पक्ष फेरि अन्तरिम युद्धविराम सम्झौतामा फर्किन उत्सुक रहेको बताए। हाल भइरहेको वार्ताको मुख्य केन्द्रबिन्दु इरानले जहाजहरूमा लगाइएको कडा प्रतिबन्धहरू खुकुलो पार्दै होर्मुज जलमार्गमार्फत ढुवानी तथा ट्रान्जिट सेवाहरू पुनः सञ्चालन गर्नु रहेको छ।
द्वन्द्वको सुरुवाती चरणमा इरानले ट्यांकर र मालवाहक जहाजहरूमाथि गोलीबारी गरेर फारसी खाडीको यो साँघुरो जलमार्गमा आफ्नो कडा नियन्त्रण कायम गरेको थियो। यसको परिणामस्वरुप अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्च रूपमा बढेको छ, जसले गर्दा अमेरिकी नागरिकहरूमा असन्तुष्टि बढेको छ। यसबाट नोभेम्बरको निर्वाचनमा रिपब्लिकन सांसदहरूको राजनीतिक भविष्य जोखिममा पर्न सक्ने खतरा उत्पन्न भएको छ।
गएको जुन महिनामा अन्तरिम युद्धविराम सम्झौतामा हस्ताक्षर भएपछि यस जलमार्गमा नियन्त्रण लिने विषयलाई लिएर पुनः संघर्ष चर्किएको हो। इरानले जहाजहरूलाई आफ्नो तटीय क्षेत्र नजिकैको मार्ग प्रयोग गर्न दबाब दिनुका साथै भारी शुल्क समेत लिन सक्ने चेतावनी दिएको छ। अमेरिकी निगरानी र सुरक्षा अपरेशन अन्तर्गत ओमानको तट नजिकै दक्षिणी मार्गबाट जहाजहरू अगाडि बढिरहेको बेला इरानले केही जहाजमाथि आक्रमण समेत गरेको थियो।
जवाफमा अमेरिकाले इरानको तटीय प्रतिरक्षा प्रणालीमाथि पुनः आक्रमण गर्यो, जसको प्रमुख उद्देश्य तेहरानको जलमार्गमा जहाजहरूलाई क्षति पुर्याउने सैन्य क्षमतालाई कमजोर पार्नु थियो। त्यसपश्चात ट्रम्प प्रशासनले आफ्नो रणनीतिक लक्ष्यहरू विस्तार गर्दै दक्षिणतर्फका पुलहरू, महत्त्वपूर्ण पूर्वाधारहरू र इरानको भित्री भूभागसम्म आक्रामक हमलाहरू तीव्र बनाएको थियो। सिंहका अनुसार यी सबै हमलाहरू इरानलाई पुनः वार्ताको टेबलमा फर्काउने रणनीतिक प्रयासको हिस्सा हुन्। अबको मुख्य प्रश्न इरानी शासनले कूटनीतिक माध्यमबाट कस्तो खालको सन्देश प्रवाह गर्न खोजिरहेको छ र उनीहरू वार्तामा फर्कन कत्तिको उत्सुक छन् भन्ने रहेको छ।
अमेरिकाका लागि अर्को ठूलो चुनौती भनेको इरानको खण्डित नेतृत्व नै हो, जहाँ सत्ता र नियन्त्रणका लागि विभिन्न आन्तरिक गुटहरूबिच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले पनि यसै तथ्यलाई बारम्बार औंल्याएका छन्। इरानका निर्णयकर्ताहरूलाई यो डर छ कि अमेरिकासँग सम्झौता गर्दा त्यसलाई राजनीतिक कमजोरीको रूपमा अर्थ्याइन सक्छ र यसले सत्तामा उनीहरूको पकडलाई कमजोर बनाउन सक्छ।
यो पनि पढ्नुहोस्
५० वर्षकै उच्च महँगी : अमेरिकीहरूले कसरी फेर्दैछन् आफ्नो किराना किनमेलको दैनिकी ?
यद्यपि, दुवै देशलाई आ-आफ्नो गम्भीर आर्थिक कारणले गर्दा यो जलमार्ग जतिसग्दो चाँडो खुलाउनु अनिवार्य भइसकेको छ। सिंह भन्छन्, ‘तर यो जलमार्ग कुन सर्तमा र कसको नियन्त्रणमा सञ्चालन हुने भन्ने विषयमा दुवै पक्षको दृष्टिकोणमा आकाश-पातालको फरक छ। त्यसैले, दिगो शान्ति स्थापना हुनुअघि हामीले यी सबै जटिल प्रश्नहरूको स्थायी समाधान खोज्नुपर्ने हुन्छ। दुवै पक्षले बल प्रयोग र मौखिक धम्कीको प्रयोग गरेर वार्ता गर्ने यो रणनीति तबसम्म जारी रहनेछ जबसम्म दुई देशबिच कुनै स्थिर सन्तुलन कायम हुँदैन।’
उता, यमनका हुथी विद्रोहीहरूले लाल सागरको रणनीतिक सहर होदेइदामा भएको साउदी हवाई आक्रमणको बदला स्वरूप साउदी अरेबियाको जिजान र यान्बुस्थित साउदी अरामको तेल प्रशोधन केन्द्रमा मिसाइल तथा ड्रोन आक्रमण गरेका छन्। इरान समर्थित यी विद्रोहीहरूले बाब अल-मन्डेब जलमार्ग बन्द गरेको दाबी गरेका छन्।
अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा आफ्नो नौसेना नाकाबन्दीलाई अझ कडाइका साथ लागु गरिरहेको छ। ओमानको खाडीमा मोजाम्बिकको झण्डा बोकेको एक जहाजले नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेपछि अमेरिकी सेनाले चेतावनीलाई बेवास्ता गर्दा त्यसलाई निष्क्रिय पारिदिएको बताएको छ।
यो पनि पढ्नुहोस्
१४औं दिनमा इरान-अमेरिका द्वन्द्व : क्यास्पियन सागरसम्म फैलियो, तेहरान र किभबिच तनाव बढ्यो
यसबिच, क्यास्पियन सागरमा युक्रेनले इरानी जहाजमाथि बम विस्फोट गराएपछि इरानले युक्रेनी कूटनीतिज्ञलाई स्पष्टीकरणका लागि बोलाएको छ। उक्त आक्रमणमा कम्तीमा एक नाविकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वमा रूसले इरानको सैन्य अभियानमा प्रत्यक्ष सहयोग पुर्याइरहेको आरोप लगाएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १० श्रावण २०८३ ११:४३ आइतबार



-600x400.jpg)