नेपाल–पाकिस्तान युवा परिषद (एनपीवाइसी) ले हालै घोषणा गरिएको अमेरिका र इरानबीचको दुई हप्ते युद्धविराम सफल बनाउन पाकिस्तानले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको छ।
परिषदले एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ तथा फील्ड मार्शल आसिम मुनिरको कूटनीतिक पहललाई सराहना गरेको हो। उक्त विज्ञप्तिमा दुवै नेताले क्षेत्रीय तनाव कम गर्न तथा संवादको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
परिषदका अनुसार यो अस्थायी युद्धविरामले द्वन्द्व न्यूनीकरण र क्षेत्रीय स्थायित्वमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। साथै, पाकिस्तानले आपसी समझदारी अभिवृद्धि, अन्तर्राष्ट्रिय मापदण्डको पालन र विश्व शान्तिमा योगदान पुर्याउने दिशामा अग्रणी भूमिका खेलेको पनि जनाइएको छ।
विज्ञप्तिमा पाकिस्तान नेतृत्वको दूरदर्शी नीति र सक्रिय मध्यस्थताले जिम्मेवार अन्तर्राष्ट्रिय कूटनीतिमा देशको प्रतिबद्धता झल्काएको उल्लेख गरिएको छ। यस्तो पहलले जटिल अन्तर्राष्ट्रिय समस्याहरू समाधान गर्न संवाद, सहकार्य र दूरदृष्टिको महत्वलाई उजागर गर्ने परिषदको भनाइ छ।
परिषदले यस्ता प्रयासहरूले द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध सुदृढ बनाउने मात्र नभई युवा नेतृत्वका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ। साथै, दिगो शान्ति, नागरिकको सुरक्षा तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने प्रयासहरूमा पूर्ण समर्थन रहने जनाएको छ।
नेपाल–पाकिस्तान युवा परिषदले युवा-नेतृत्वमा आधारित कूटनीति र सहकार्यलाई निरन्तर प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
प्रकाशित: २६ चैत्र २०८२ १९:०७ बिहीबार



