युक्रेन–रुस युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकाले आफ्नो कूटनीतिक प्रयासलाई तीव्र बनाइरहेको छ। यसैबिच अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उच्चस्तरीय वार्ता सम्पन्न गरेपछि आइतबार कीभ पुगेका छन्।
युद्ध सुरु भएयता विटकफ र कुशनरको यो युक्रेनी राजधानीको पहिलो भ्रमण हो। कीभमा लगातार भइरहेका रुसी मिसाइल तथा ड्रोन आक्रमणबीच उनीहरु त्यहाँ पुगेका हुन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्तापछि अमेरिकी प्रतिनिधिमण्डलले रुसी आक्रमणबाट क्षतिग्रस्त मध्य कीभस्थित ऐतिहासिक सेन्ट सोफिया क्याथेड्रलको अवलोकन गरेको थियो।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत उक्त क्याथेड्रलका झ्याल तथा संरचनाका केही भाग हालैको रुसी आक्रमणबाट क्षतिग्रस्त भएका छन्।
शुक्रबार कीभस्थित युक्रेनको सुरक्षा सेवा (एसबीयू) मुख्यालयमा भएको रुसी आक्रमणको असर क्याथेड्रलसम्म पुगेको बताइएको छ।
जेलेन्स्कीले युक्रेनमा हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टरहरूको तीव्र अभाव रहेको र त्यसका कारण देश रुसी ब्यालिस्टिक मिसाइल आक्रमणको उच्च जोखिममा परेको बताएका छन्।
अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटअघि उनले आफ्ना वार्ता टोलीसँग छलफल गरेका थिए।
‘हामी वार्ताका लागि तयार छौं। युक्रेन सधैं रचनात्मक रहँदै आएको छ र आगामी दिनमा पनि त्यही प्रतिबद्धतामा रहनेछ’,जेलेन्स्कीले टेलिग्राममार्फत भने।
उनले थपे, ‘हामी युद्धको अन्त्यका लागि प्रतिबद्ध छौं। शान्ति आवश्यक छ। सुरक्षा ग्यारेन्टी आवश्यक छ। युद्धपछिको सम्मानजनक शान्ति आवश्यक छ। हाम्रा प्रस्तावहरू तयार छन्।’
युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख किरिलो बुडानोभले फ्रान्स, बेलायत र जर्मनीका प्रतिनिधिहरू पनि कीभमा रहेको जानकारी दिएका छन्। ‘हाम्रो अगाडि अत्यन्त व्यस्त र महत्त्वपूर्ण वार्ताले भरिएको दिन छ’, उनले भने।
रुसी सरकारी सञ्चारमाध्यम टासका अनुसार विटकफ र कुशनर मस्कोबाट कीभ जाने क्रममा पोल्यान्डको रजेस्जो सहरमा अवतरण गरेका थिए। त्यहाँबाट उनीहरूले रेलमार्फत कीभ गएका थिए।
अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणकै अवधिमा रुस र युक्रेनबीच ७२ घण्टे अस्थायी युद्धविराम लागू गरिएको छ।
युद्धविरामअन्तर्गत दुवै पक्षले राजधानीहरू मस्को र कीभमाथि हुने हवाई आक्रमण स्थगित गरेका छन्। यो व्यवस्था शुक्रबार मध्यरातदेखि लागू भई कूटनीतिक वार्ताको सप्ताहन्तभर कायम रहने जनाइएको छ।
यद्यपि युद्धविराम केवल दुई राजधानीमा सीमित रहेकाले युक्रेनका अन्य क्षेत्रहरूमा रुसी आक्रमण जारी रहेको छ।
युक्रेनको वायुसेनाका अनुसार पछिल्लो २४ घण्टामा रुसले १०८ वटा शाहेद प्रकारका ड्रोन प्रहार गरेको छ। ती आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कीभ क्षेत्रको पूर्वाधारमा क्षति पुगेको छ।
युक्रेनभर ११ स्थानमा रुसी हवाई आक्रमण रेकर्ड गरिएको छ। कीभ क्षेत्रको एक पूर्वाधार केन्द्रमा लागेको भीषण आगो नियन्त्रणमा ल्याइएको अधिकारीहरूले बताएका छन्।
पछिल्लो २४ घण्टामा रुसी आक्रमणका कारण युक्रेनभर १० नागरिकको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्।
यसअघि शनिबार विटकफ र कुशनरले क्रेमलिनमा राष्ट्रपति पुटिनसँग करिब तीन घण्टा लामो उच्चस्तरीय वार्ता गरेका थिए। वार्तापछि पुटिनले अमेरिकी प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।
क्रेमलिनका सहयोगी युरी उशाकोभले वार्तालाई ‘उपयोगी’ भएको भन्दै अमेरिकी टोलीले भ्रमणका लागि गम्भीर तयारी गरेको बताए। उनका अनुसार अमेरिकी पक्षले यथाशीघ्र युद्ध अन्त्य गर्न इच्छुक रहेको र सम्भावित समाधानका विभिन्न विकल्पहरू प्रस्तुत गरेको थियो।
उता, ह्वाइट हाउसका एक अधिकारीले दुवै पक्षबीच आगामी चरणका लागि ठोस योजनामाथि छलफल भएको र ती योजनाहरू आगामी केही साताभित्र सार्वजनिक गरिने जानकारी दिएका छन्।
प्रकाशित: २१ भाद्र २०८३ १८:३६ आइतबार