अन्तर्राष्ट्रिय

ट्रम्प-सी शिखर सम्मेलनअघि अमेरिका र चीनबिच भयो महत्त्वपूर्ण सहमति

अमेरिका र चीनबिच कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी संवाद सुरु गर्ने र द्विपक्षीय व्यापार बोर्ड सञ्चालन गर्ने विषयमा महत्त्वपूर्ण सहमति भएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरले चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङसँग न्यूयोर्कमा भएको भेटपछि सहमति सार्वजनिक गरेका हुन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणअघि आठ घण्टा सम्म चलेको वार्तापछि उक्त सहमति जुटेको हो। बेसेन्टले अमेरिका-चीनबिच व्यापार र एआईमा भएको छलफल सफल भएको बताए।

ग्रीरले यसअघि छलफलमा रहेका व्यापार बोर्ड र एआई संवादका योजनालाई अब ठोस पहलमा परिणत गरिएको जानकारी दिए। उनका अनुसार यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सीबिचको सम्बन्धलाई अघि बढाउन सहयोग गर्नेछ।

एआई संवादअन्तर्गत दुई देशबिच एआईसँग सम्बन्धित घटनाबारे सूचना आदानप्रदान गर्ने संयन्त्र बनाउने प्रस्ताव गरिएको छ। अमेरिकाले एआई सुरक्षा र प्रविधिको जोखिममा बढी ध्यान दिन चाहेको छ भने चीनले विश्वव्यापी एआई शासनका विषयमा व्यापक छलफल गर्न खोजेको छ।

अमेरिकाले चिनियाँ एआई कम्पनीहरूले अमेरिकी मोडेलबाट प्रविधि सिकिरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ। चीनले भने मोडेल डिस्टिलेसन एआई विकासकर्ताले प्रयोग गर्ने सामान्य प्राविधिक अभ्यास भएको बताउँदै अमेरिकी आरोप अस्वीकार गरेको छ।

व्यापार बोर्डअन्तर्गत दुवै पक्षले गैर-संवेदनशील वस्तुको सूची तयार गरिरहेका छन्। चीनबाट उपभोग्य तथा कम-प्रविधिका वस्तु र अमेरिकाबाट ऊर्जा, कृषि तथा सम्भावित चिकित्सा उपकरणलाई यसमा समेट्न सकिने ग्रीरले बताए।

यसैबिच, ट्रम्प र सीबिच सेप्टेम्बर २४ मा वाशिंगटनमा शिखर वार्ता हुँदैछ। उक्त वार्तामा एआईसँगै व्यापार, कर र दुर्लभ पृथ्वीजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ। एजेन्सी

प्रकाशित: ५ आश्विन २०८३ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App