अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा साथ नदिएको भन्दै बेलायती प्रधानमन्त्री केअर स्टार्मरको कडा आलोचना गरेका छन्। ट्रम्पले बेलायत पहिले जस्तो सहयोगी नरहेको र दुई देशबिचको सम्बन्ध नाटकीय रूपमा परिवर्तन भएको बताएका छन्।
‘द सन’ सँगको कुराकानीमा उनले भने, ‘स्टार्मरले सहयोग गरेका छैनन्। मैले कहिल्यै सोचेको थिइनँ कि बेलायतबाट यस्तो व्यवहार देख्नुपर्ला।’
ट्रम्पले मध्यपूर्वको युद्धमा अब अमेरिका बेलायतमाथि निर्भर नरहने समेत संकेत गरेका छन्। उनले फ्रान्स लगायत अन्य देशहरू सहयोगी रहेको तर बेलायतको रवैया फरक र निराशाजनक रहेको टिप्पणी गरेका हुन्। कुनै समय ‘सबैभन्दा ठोस’ मानिएको यो गठबन्धन अहिले दबाबमा आएको ट्रम्पको बुझाइ छ।
यता प्रधानमन्त्री स्टार्मरले भने संसद्मा बोल्दै आफ्नो सरकार ‘हवाई आक्रमणमार्फत कुनै देशमा शासन परिवर्तन’ गर्ने पक्षमा नरहेको प्रस्ट पारेका छन्। सुरुमा इरानमाथि आक्रमणका लागि आफ्ना सैन्य आधार शिविर प्रयोग गर्न अनुमति नदिएको बेलायतले पछि ‘रक्षात्मक’ प्रयोजनका लागि मात्र त्यसलाई खुला गरेको थियो।
प्रकाशित: १९ फाल्गुन २०८२ १४:३० मंगलबार



