अन्तर्राष्ट्रिय

अफगानिस्तान र पाकिस्तानमा वर्षासँगै आँधीबेहरी, १२१ जनाको मृत्यु

अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको छ।

मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षाको कारण ७७ जनाको मृत्यु भएको छ। ‘मार्च २६ देखि अहिलेसम्म बाढी र वर्षाका कारण देशभरि ७७ व्यक्तिको मृत्यु भएको र १३७ जना घाइते भएका छन्,’ अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरण (एएनडिएमए) का प्रवक्ता मोहम्मद युसुफ हम्मादले शनिबार एएफपीसँग भने।  

प्रवक्ता हम्मादका अनुसार बितेका ४८ घण्टामा देशभर बाढी, पहिरो र चट्याङका कारण २६ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका छन्।

यस्तै, पाकिस्तानमा पछिल्ला हप्ताहरूमा भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार उत्तरी प्रान्त खैबर पख्तुनख्वामा मार्च २५ देखि यता कम्तीमा ३२ र दक्षिणपश्चिमी बलुचिस्तानमा मार्च २० पछि १२ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको दक्षिणपूर्वी गजनीमा शनिबार बिहान आएको बाढीमा डुबेर अन्य बालबालिकासँग खेलिरहेका एक बालकको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ।

सोही प्रान्तका विभिन्न जिल्लामा डुबेर थप दुई बालबालिकाको मृत्यु भएको छ।

दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा वर्षाका कारण घरको छत भत्किँदा तीन जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ। एएफपी

प्रकाशित: २१ चैत्र २०८२ १९:११ शनिबार