विश्वका ठुला एआई कम्पनीका प्रमुखहरूले तीव्र गतिमा भइरहेको विकासबाट उत्पन्न जोखिमबारे चेतावनीसहित विकासको गति सुस्त पार्न आह्वान गरेपछि सोमबार विश्वभर एआईसँग सम्बन्धित कम्पनीका सेयरमा ठुलो गिरावट आएको छ।
यसलाई एआई उद्योगमा भइरहेको अर्बौं डलरको लगानीमाथि देखिएको अहिलेसम्मकै गम्भीर चुनौतीका रूपमा हेरिएको छ। यही लगानीले पछिल्लो समय विश्वका सेयर बजारलाई कीर्तिमानी उचाइमा पुर्याउन ठुलो भूमिका खेलेको थियो।
एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले शनिबार सामाजिक सञ्जाल एक्समा प्रकाशित लेखमा कृत्रिम बौद्धिकताको दुरुपयोग हुने जोखिम बढ्दै गएको भन्दै एआई कम्पनीहरूले आफ्ना मोडलहरूको क्षमता विस्तार गर्ने गति कम गर्नुपर्ने बताएका थिए। एक्सएआई सञ्चालन गरिरहेका इलोन मस्क र ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले पनि अमोडेईको भनाइमा आफूहरू सहमत रहेको बताएका छन्।
अल्टम्यानले सुरक्षासम्बन्धी चिन्ता देखाउँदै ओपनएआईले यस वर्ष आइपिओ जारी गर्ने योजना अघि नबढाउने पनि बताएका छन्। एआई कम्पनीका प्रमुखहरूको यस्तो भनाइपछि एआईसँग सम्बन्धित क्षेत्रमा थप निगरानी बढेको छ। एआई विकासका लागि कम्पनीहरूले ऋण र एकअर्कासँग जोडिएका लगानी तथा वित्तीय व्यवस्थामा बढ्दो निर्भरता देखाइरहेका बेला यस्तो चेतावनी आएको हो। यससँगै विश्वव्यापी ऋणको लागत जनाउने ब्याजदर पनि बहुवर्षीय उच्च बिन्दुमा पुगेका छन्।
स्विट्जरल्यान्डको कम्पनी स्विसकोटकी वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाका अनुसार एआई विकासको दौड उल्लेखनीय रूपमा सुस्त भए त्यसका लागि निर्माण गरिएको विशाल पूर्वाधारको खर्च कसले बेहोर्ने भन्ने प्रश्न उठ्नेछ। एआईको गणनात्मक क्षमता र आम्दानीको अपेक्षित माग घटे पनि पूर्वाधारका लिज, ऋण र विद्युत् खरिदसम्बन्धी प्रतिबद्धता भने कायम रहने उनले बताइन्। यसले एआई क्षेत्रमा ऋणसम्बन्धी जोखिम बढाउन सक्ने उनको भनाइ छ।
एआई कम्पनीका सेयरमा ठुलो गिरावट
अमेरिकी प्रविधि कम्पनीहरूका सेयरमा आधारित नास्डाक ई–मिनी फ्युचर्सको सेयर १.९ प्रतिशतले घटेको थियो। एआई क्षेत्रमा अत्यधिक उत्साह बढाउन प्रमुख भूमिका निर्वाह गरेका ‘चिप्स’ कम्पनीका सेयरमा सबैभन्दा ठुलो गिरावट आएको छ। एनभिडियाको सेयर ३ प्रतिशत, एडभान्स्ड माइक्रो डिभाइसेस (एएमडी) को ५.७ प्रतिशत र मस्कको स्पेसएक्सको सेयर २.६ प्रतिशतले घटेको छ। मेटा र अमेजनजस्ता ठुलो स्तरमा डाटा सेन्टर सञ्चालन गर्ने प्रविधि कम्पनीका सेयर पनि १.४ प्रतिशतभन्दा बढीले घटेको छ।
युरोपमा प्रविधि कम्पनीका सेयर २.५ प्रतिशतले घटेका छन्। चिप्स उपकरण निर्माता एएसएमएलको सेयर ५.८ प्रतिशत घटेपछि युरोपेली प्रविधि क्षेत्रमा दबाब परेको हो। चिप्स निर्माता इन्फिनियन ८.४ प्रतिशत र एआई पूर्वाधार उपकरण निर्माता सिमेन्स इनर्जी ७.४ प्रतिशतले घटेको छ। एसियामा च्याटजिपिटी निर्माता ओपनएआईमा लगानी गरेको सफ्ट बैंकको सेयर १३.२ प्रतिशतसम्म घट्यो। ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) को सेयर १.२ प्रतिशत र दक्षिण कोरियाको एसके हाइनिक्सको सेयर ६.३ प्रतिशतले घटेको छ।
‘अस्वीकार्य’ जोखिम
अमोडेईले आफ्नो लेखमा अबको ६ देखि १२ महिनामै एआई एजेन्टहरू सम्भावित रूपमा सम्पूर्ण इन्टरनेट नियन्त्रण गर्न सक्ने र त्यसबाट सयौं अर्ब डलर बराबरको क्षति हुन सक्ने बताएका छन्। सान फ्रान्सिस्कोस्थित एन्थ्रोपिकले बिहीबार सार्वजनिक गरेको खतरा सम्बन्धी प्रतिवेदनमा उसका क्लाउड एआई मोडलहरू हतियार विकास, साइबर गतिविधि, निगरानी र ठगीलगायत विभिन्न गतिविधिमा प्रयोग भएको उल्लेख गरेको थियो। एआईबाट हुन सक्ने क्षतिबारे चिन्ता अझ बढेको छ। एन्थ्रोपिकका अनुसन्धानकर्ता ज्याकोब कोक्सनले राजीनामा दिँदै एआई निर्माण गरिरहेका मानिसहरूले यो दशकको अन्त्यसम्म एआईले मानव जातिको अस्तित्व नै समाप्त गर्न सक्ने विश्वास गरेको बताएका थिए।
ओपनएआईका प्रमुख अल्टम्यानले पनि एआईबाट मानव जातिको विनाश हुन सक्ने जोखिमलाई ‘अस्वीकार्य’ भनेका छन्। अमेरिकाका केही सांसदले एआईको तीव्र विकासप्रति चिन्ता व्यक्त गर्दै नयाँ नियम आवश्यक रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आइतबार एआईको आलोचना गर्नेहरूलाई ‘अत्यन्त नकारात्मक शक्तिहरू’ को संज्ञा दिँदै उनीहरूले नहुने घटनाको कल्पना गरिरहेको बताएका छन्। उनले अमेरिकाले एआई उद्योगमा आफ्नो अग्रणी स्थान कायम राख्नुपर्ने बताएका छन्।
एआईको विकास रोकिएला?
ओपनएआईले सन् २०२२ मा च्याटजिपिटी सार्वजनिक गरे यता एआईसँग सम्बन्धित कम्पनीका सेयरले विश्वका सेयर बजारमा भएको ठुलो वृद्धिमा महत्त्वपूर्ण योगदान दिएका छन्। पछिल्लो समय एआई एजेन्टमार्फत भएका साइबर आक्रमण र डाटा सेन्टर निर्माणप्रति स्थानीय समुदायमा बढ्दो असन्तुष्टिले उद्योगको विस्तारप्रति विरोध बढाएको छ। अमेरिका र चीनले यसै महिनाको द्विपक्षीय वार्ताका क्रममा एआई सुरक्षाबारे छलफल गर्ने तयारी गरेका छन्। चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले एन्थ्रोपिकको लेखको आलोचना गर्दै त्यसलाई चीनको प्रविधि विकास रोक्ने उद्देश्यले ल्याइएको ‘शीतयुद्धकालीन रणनीति’ भनेको छ।
लगानीकर्तामा पनि शंका
केही लगानीकर्ताले एन्थ्रोपिक र ओपनएआईका चेतावनीलाई गम्भीर रूपमा लिएका छैनन्। सन् २००८ को विश्वव्यापी वित्तीय संकटअघि अमेरिकी घरजग्गा बजारविरुद्ध सही अनुमान लगाएर चर्चित बनेका माइकल बरीले एक्समा यी चेतावनीलाई ‘अतिरञ्जना’ भन्दै वास्तविक रूपमा नियन्त्रण गर्न नसकिने आर्थिक वृद्धिमा आएको सुस्तीलाई ढाक्ने प्रयास भनेका छन्।
अन्य लगानीकर्ताले भने एआई क्षेत्रमा भइरहेको ठुलो पुँजीगत खर्चले विकासको गति तत्काल सुस्त हुने सम्भावना नरहेको बताएका छन्। मोर्गन स्टान्लीका ब्रायन नोवाकले सन् २०२७ सम्म एआई क्षेत्रमा हुने लगानी १.२ ट्रिलियन डलरभन्दा बढी पुग्ने अनुमान गरेका छन्। डोयचे बैंकले पनि कम्पनी र राष्ट्रबिचको प्रतिस्पर्धा तीव्र रहेकाले एआई विकासमा कम्पनीहरूले स्वेच्छाले पछि हट्ने सम्भावना कम रहेको जनाएको छ। एन्थ्रोपिक स्वयं भने आइपिओतर्फ अघि बढिरहेको छ। स्रोतहरूका अनुसार कम्पनीले अर्को महिनातिर सार्वजनिक सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ र एनभिडियालाई प्रमुख लगानीकर्ता बनाउने विषयमा छलफल भइरहेको छ।
एआई सुरक्षासम्बन्धी चेतावनीले भने छोटो अवधिमा एआई र चिप्स कम्पनीका सेयरमा दबाब कायम राख्न सक्ने विश्लेषकहरूले बताएका छन्। सिंगापुरस्थित स्याक्सो बैंककी प्रमुख लगानी रणनीतिकार चारु चनानाका अनुसार एआई कम्पनीहरूको हालको मूल्यांकन बलियो माग र प्रविधिको निरन्तर तीव्र विकासमा आधारित छ। अपेक्षा अत्यधिक उच्च भएका बेला विकासमा सम्भावित ढिलाइको संकेतले पनि लगानीकर्तालाई नाफा सुरक्षित गर्न सेयर बिक्रीतर्फ धकेल्न सक्ने उनले बताइन्। एजेन्सी
प्रकाशित: ३० भाद्र २०८३ १०:२९ मंगलबार



