पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान गर्दै लामो समयदेखि जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। उनले युद्धका लागि बढ्दो सैन्य खर्चले तनाव थप बढाउने भन्दै हतियारमा खर्च हुने रकम भोकमरी, आवास र बेरोजगारीजस्ता समस्या समाधानमा प्रयोग गर्न सकिने बताएका छन्।
फ्रान्सको भ्रमण सकेर रोम फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पोप लियोले हिंसा, घृणा, हतियार र विनाशकारी युद्धबाट उत्पन्न जोखिमको विरोध गर्नु चर्चको सामाजिक शिक्षाको महत्त्वपूर्ण पक्ष भएको बताए। उनले युद्धलाई बढावा दिने सैन्य उद्योगबाट थोरै मानिस धनी भइरहेको उल्लेख गर्दै संवाद र वार्ताको विकल्प खोज्न विश्व समुदायलाई आग्रह गरे।
‘रुस र युक्रेन तथा अन्य देशका नेताहरूलाई बस्न, वार्तामा संलग्न हुन र युद्ध जारी नराखी समस्याको समाधान खोज्न आमन्त्रण गर्नु चर्चको जिम्मेवारी हो’, उनले भने। कहिलेकाहीँ यस्तो प्रयास व्यर्थजस्तो लागे पनि चर्चले शान्तिका लागि आफ्नो आवाज उठाइरहने उनले स्पष्ट पारे।
पोपको आग्रह रुस–युक्रेनबीच युद्ध जारी रहेका बेला आएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभमा रुसी आक्रमणबाट एक जनाको मृत्यु तथा तीन बालबालिकासहित छ जना घाइते भएको बताएका छन्। उनका अनुसार नेसनल एकेडेमी अफ साइन्सेजको भवनमा भएको आक्रमणपछि उद्धार टोली परिचालन गरिएको थियो।
जेलेन्स्कीले युक्रेनमाथिका आक्रमण रोक्न अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताउँदै युरोप, अमेरिका र अन्य साझेदारको सहयोगमा भरोसा रहेको उल्लेख गरेका छन्। यसअघि सेप्टेम्बर २६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै युद्धको ‘समाधान’ चाहेको बताएका थिए।
प्रकाशित: १३ आश्विन २०८३ १६:०७ मंगलबार