अन्तर्राष्ट्रिय

मोडल बनाउने लोभ देखाएर पेन्टहाउसमा यौन दुर्व्यवहार गर्ने निगार्डले आरोप स्वीकारे

क्यानेडियन फेसन मोगल पिटर निगार्डले क्युबेकमा आफूमाथि लागेको यौन दुर्व्यवहार र जबरजस्ती थुनामा राखेको आरोपमा दोषी स्वीकार गरेका छन्। 

विश्वव्यापी निगार्ड अन्तर्राष्ट्रिय कपडा कम्पनीका संस्थापक रहेका ८४ वर्षीय निगार्डले पछिल्लो पटक यो मुद्दामा दोषी स्वीकार गरेका हुन्। उनले अमेरिकी ठगी र यौन बेचबिखनको आरोप पनि खेपिरहेका छन्। ८४ वर्षीय निगार्ड ओन्टारियो जेलबाट भिडियोमार्फत अदालतमा उपस्थित भएका थिए। उनी टोरन्टोको एक अदालतबाट चार महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका छन्। उनले संघीय ठगी र यौन बेचबिखनको आरोपमा अमेरिकामा सुपुर्दगीको सामनासमेत गर्नुपर्नेछ।

क्युबेक क्राउन अभियोजक जेरोम लाफ्लामेले मुद्दाको फैसला सुनाउने समयमा निगार्डको निर्णय अप्रत्याशित भएको बताएका छन्। लाफ्लामेले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘निगार्डको निर्णय एकदमै अचानक परिवर्तन भएको थियो।’

अभियोजन पक्षका अनुसार निगार्डले युवतीहरूलाई लोभ्याउन फेसन डिजाइनरको रूपमा आफ्नो प्रभाव प्रयोग गरेका थिए। अदालतका कागजात अनुसार पीडित १८ वर्षकी हुँदा निगार्डलाई बारमा भेटेकी थिइन् र मोडल बन्न चाहन्थिन्। करियरको विषयमा छलफल गर्न मोन्ट्रियल पेन्टहाउसमा बोलाएर निगार्डले उनलाई शयनकक्षमा बन्द गरी यौन दुर्व्यवहार गरेका थिए। यी घटनाहरू सन् १९९७ नोभेम्बरदेखि १९९८ नोभेम्बरको बिचमा भएका थिए।

निगार्डका वकिल गेरी विबेले निगार्डको स्वास्थ्य कमजोर रहेको र उनलाई अहिले नै अर्को देशमा स्थानान्तरण गर्दा जीवन खतरामा पर्न सक्ने भन्दै बचाउ गरेकी छिन्। उनले अमेरिकामा सुपुर्दगी हुनुअघि क्युबेकका आरोपविरुद्ध लड्ने योजना निगार्डले नबनाएको बताइन्।

अमेरिकी अभियोजकहरूले निगार्डले आफ्नो फेसन कम्पनी र आर्थिक स्रोतको प्रयोग गरी २५ वर्षसम्म महिला र नाबालिग केटीहरूलाई यौन शोषणका लागि भर्ती गरेको आरोप लगाएका छन्। निगार्डले अमेरिकी आरोपमा भने आफू निर्दोष रहेको दाबी गरेका छन्।

हाल चिकित्सा परीक्षण नभएसम्मका लागि सजाय स्थगित गरिएको छ। यो मुद्दा अक्टोबर २ मा अदालतमा फिर्ता हुनेछ, त्यसबेला वकिलहरूले संयुक्त सजायको सिफारिस पेश गर्नेछन्। वकिल विबेले क्यानडाको कानुनी मामिला टुंगिएपछि मात्र अमेरिकाले उनलाई सुपुर्दगी गर्न सक्ने बताएकी छिन्। एपी

प्रकाशित: ३० असार २०८३ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App