गत महिना युरोपमा भएको रायनएयर विमानको एउटा डरलाग्दो घटनाको मुख्य कारण चराको प्रहार हुनसक्ने अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले जनाएको छ।
बिहीबार सार्वजनिक भएको प्रारम्भिक प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो। घटना जुलाई १० को बिहानको हो। ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिन्जेन उडेको बोइङ ७३७ विमानको नम्बर २ इन्जिन उडान भरेको केही मिनेटमै बिग्रिएको थियो। प्रतिवेदनका अनुसार इन्जिनको एउटा फ्यान ब्लेड फुट्यो र त्यसबाट निस्किएका टुक्राहरूले विमानको बडीमा क्षति पुर्यायो। सोही क्रममा ११औँ पङ्क्तिको यात्रु झ्याल फुटेको थियो।
झ्याल फुटेपछि त्यही सिटमा बसेका ६१ वर्षीय सर्बियाली यात्रुको आधा शरीर बाहिर निस्किएको थियो। गम्भीर घाइते ती यात्रुले पछि सञ्चारमाध्यमसँग कुरा गर्दै भनेका थिए, ‘मलाई धेरै कुरा याद छैन, टाउको र घाँटी दुखेको छ तर सिटबेल्ट बाँधिएका कारण मात्र म जीवित छु।’
सीबीएस न्यूजका अनुसार अनुसन्धानका क्रममा एनटीएसबीका अधिकारीहरूले इन्जिनभित्र चराको प्वाँखसहितका अवशेष फेला पारेका छन्। यद्यपि, ती अवशेषहरू जुलाई १० कै घटनाका हुन् वा अघिल्ला हुन् भन्ने अझै पुष्टि भइसकेको छैन। ती अवशेषहरू परीक्षणका लागि स्मिथसोनियन इन्स्टिच्युशन पठाइएको छ।
यो पनि पढ्नुहोस्
जब ३० हजार फिटमा विमानको झ्याल फुट्दा यात्रुको टाउको बाहिर निस्कियो...
विमानमा सवार एक उडान परिचारकका अनुसार क्याबिनको दबाब घटेर अक्सिजन मास्क खसेपछि यात्रुहरूले झ्यालबाट ती मानिसलाई आधा बाहिर निस्किएको अवस्थामा देखेका थिए। पछि अन्य यात्रुहरूको सहयोगमा उनलाई भित्र तानेर सुरक्षित रूपमा विमान अवतरण गरिएको थियो। जहाजमा १४९ यात्रु र छ जना चालक दलका सदस्य थिए।
एनटीएसबीले सार्वजनिक गरेको प्रतिवेदनमा इन्जिनको फ्यान ब्लेडमा धातुको थकान (मेटल फ्याटिक) का संकेतहरू पनि फेला परेको जनाएको छ। यो घटनाको पूर्ण अनुसन्धान प्रतिवेदन आउन अझै १२ देखि २४ महिना लाग्ने बताइएको छ।
बोइङ कम्पनीले अनुसन्धानमा एनटीएसबीलाई सहयोग गरिरहेको जनाएको छ भने रायनएयरले अनुसन्धान नसकिउन्जेल कुनै प्रतिक्रिया नदिने बताएको छ।
प्रकाशित: २९ श्रावण २०८३ १७:२५ शुक्रबार
-600x400.jpg)


