अन्तर्राष्ट्रिय

पाक-अफगान युद्धमा तीन सय बढी मारिएको दाबी

पाकिस्तान र अफगानिस्तान बिच जारी युद्ध थप गम्भीर अवस्थामा पुगेको छ। पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीका अनुसार पाकिस्तानी आक्रमणबाट २७४ तालिबानी लडाकु मारिएका छन्। साथै, ४०० भन्दा बढी घाइते भएको उनले दाबी गरेका छन्। 

सो अवसरमा चौधरीले १२ पाकिस्तानी सैनिक मारिनुका साथै २७ जना घाइते भएको जानकारी गराए। एक जना बेपत्ता भएका छन्। चौधरीले अफगान तालिबान शासनले सीमाको १५ क्षेत्रका ५३ इलाकामा गोलीबारी गरेको बताएका छन्। यसको जवाफमा पाकिस्तानले सुरु गरी काबुल सहितका प्रान्तहरूमा हवाई हमला गरेको छ।

टोलो न्यूजका अनुसार तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५५ पाकिस्तानी सैनिक मारेको दाबी गरेका छन्। यसरी दुवै पक्षको दाबी अनुसार ३०० भन्दा बढी व्यक्ति मारिएको रिपोर्ट गरिएको छ। भारतले पाकिस्तानको आक्रमणको निन्दा गर्दै अफगानिस्तानलाई समर्थन गरेको छ। चीन, रुस, मलेसिया, टर्कीलगायत देशहरुले शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। 

घातक लडाइँपछि तालिबान शासनले द्वन्द्व समाधानका लागि वार्ताको इच्छा देखाएको छ। मुजाहिदले पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले बारम्बार शान्तिपूर्ण समाधानमा जोड दिएका छौँ, र अझै पनि समस्या वार्ताबाट समाधान होस् भन्ने चाहन्छौँ।’

यद्यपि, अफगानिस्तानका सेना प्रमुख फसिहुद्दीन फितरतले भनेका छन्, ‘भविष्यमा हुने आक्रमणको घटनामा पाकिस्तानले अझ बलियो र निर्णायक प्रतिक्रिया पाउनेछ।’ पाकिस्तानले पनि आफ्नो जवाफी सैन्य कारबाही अझै जारी रहेको बताएको छ।

प्रकाशित: १५ फाल्गुन २०८२ १८:३९ शुक्रबार