अन्तर्राष्ट्रिय

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

विश्व फुटबलका महान् खेलाडी एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत ३७ वर्षीय मेस्सीले राष्ट्रिय टिमबाट आफ्नो २० वर्षे ऐतिहासिक यात्रामा पूर्णविराम लगाएको जानकारी दिएका हुन्।

मेस्सीले आफू राष्ट्रिय टिमका लागि सबैकुरा जितिसकेको र नयाँ पुस्ताका लागि ठाउँ छोड्ने उपयुक्त समय आएको बताएका छन्।

फाइनल खेलपछिको गम्भीर सोचविचारपछि यो निर्णयमा पुगेको बताउँदै उनले यो आफ्नो जीवनकै सबैभन्दा पीडादायी तर अनिवार्य निर्णय भएको उल्लेख गरेका छन्।

‘फाइनलपछिको लामो सोचविचारपछि म तपाईंहरू सबैलाई राष्ट्रिय टिमबाट सन्न्यास लिँदै छु भन्ने जानकारी गराउन चाहन्छु,’ मेस्सीले लेखेका छन्, ‘यो निर्णयले मेरो आत्मालाई गहिरो चोट पुर्‍याएको छ र अझै पनि दुखिरहेको छ। तर मलाई थाहा छ, बिदा हुने सही समय यही नै हो।’

राष्ट्रिय जर्सीका लागि आफूले सधैँ सर्वस्व सुम्पिएको स्मरण गर्दै उनले अगाडि भनेका छन्, ‘मैले आफूसँग भएको सबै ऊर्जा रित्तो बनाएँ, अब मसँग थप दिनका लागि केही बाँकी छैन। अर्कोतर्फ, पछाडि निकै प्रतिभाशाली युवा खेलाडीहरूको पुस्ता आइसकेको छ, जो टिममा रहन हकदार छन्।’

पछिल्ला दुई दशकमा पाएको अपार मायाका लागि समर्थकहरूलाई धन्यवाद दिँदै मेस्सीले अब आफू मैदानबाहिरबाट एक साधारण समर्थकका रूपमा अर्जेन्टिनालाई सधैँ हौसला दिइरहने बताएका छन्।

उनले आफ्नो कठिन तर सुन्दर यात्रामा साथ दिने परिवार, प्रशिक्षकहरू, सहखेलाडीहरू र फुटबल पदाधिकारीहरूप्रति आभार व्यक्त गरेका छन्।

‘हामीले सँगै मिलेर देशलाई सपना जस्तै अविस्मरणीय क्षणहरू उपहार दिन सकेकोमा मलाई गर्व र आत्मसन्तुष्टि छ,’ मेस्सीले लेखेका छन्, ‘मलाई अर्जेन्टिनी बनाएकोमा भगवान्लाई धेरै-धेरै धन्यवाद। भामोस अर्जेन्टिना !’

मेस्सीका अनुसार उनले यो भावुक पत्र फाइनल सकिएको दुई दिनपछि अर्थात् गत जुलाई २१ मै लेखेका थिए। हाल आफ्ना बुवासँग जोडिएको पारिवारिक घटनापछि सन्न्यासको यस निर्णयमा आफू अझ बढी विश्वस्त भएको उनले बताएका छन्।

यस्तो छ उनले लेखेको पत्र-

प्रकाशित: १५ भाद्र २०८३ २१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App