अन्तर्राष्ट्रिय

च्याटजीपीटीबाट नक्कली पीएमओ परिचयपत्र बनाएर सुरक्षाकर्मी धम्क्याउने पक्राउ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर प्रधानमन्त्री कार्यालय (पीएमओ)को नक्कली परिचयपत्र बनाएको आरोपमा एकजना पक्राउ परेका छन्।

घटना भारतको मुम्बईस्थित वान्ड्रे-कुर्ला कम्प्लेक्स (बीकेसी)को जियो वर्ल्ड प्लाजामा भएको हो। पक्राउ परेका २४ वर्षीय रोहन पारिखले आफूलाई पीएमओको अधिकारी बताउँदै सुरक्षाकर्मीलाई धम्क्याएको आरोप छ।

उनले च्याटजीपीटीजस्ता एआई उपकरणको सहयोगमा नक्कली पीएमओ परिचयपत्र र पत्र तयार पारेको प्रहरीले बताएको छ।

शुक्रबार बान्द्राको एस्प्लेनेड अदालतमा प्रहरीले रोहनको मोबाइल हेर्दा पीएमओ पत्रको मस्यौदा तयार गरेको प्रमाण भेटिएको बताएको छ। प्रहरीले रोहनले सन् २०२५ देखि सामाजिक हैसियत बढाउन नक्कली कागजात बनाउँदै आएको दाबी गरेको छ।

प्रहरी हिरासत सकिएपछि रोहन र उनका साथमा रहेका ४९ वर्षीय पूर्व सैनिक दिलीप कुण्डेलाई अदालतमा पेश गरिएको थियो। प्रहरीले दिलीपको साथबाट लाइसेन्स प्राप्त रिभल्भरसमेत बरामद गरेको छ।

अदालतले दुवैलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूको जमानत निवेदनमाथि सेप्टेम्बर १७ मा सुनुवाइ हुनेछ।

प्रहरीले एआईबाट बनाइएका नक्कली कागजात अन्य ठाउँमा पनि प्रयोग भए नभएकोबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २७ भाद्र २०८३ १२:०८ शनिबार