अन्तर्राष्ट्रिय

माल्दिभ्स : चुनाव एकै पटक गर्ने प्रस्ताव खारेज

खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै दिन गराउने सरकारी प्रस्तावलाई माल्दिभ्सका मतदाताले जनमतमार्फत अस्वीकार गरेका छन्।

शनिबार सम्पन्न जनमत सङ्ग्रहको आधिकारिक नतिजाअनुसार ६८.७७ प्रतिशत मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन्। यसले सरकारको योजना स्पष्ट रूपमा खारेज भएको देखाएको छ।

निर्वाचन आयोगका अनुसार करिब दुई लाख ९४ हजार मतदाता रहेको देशमा झन्डै दुई तिहाइले मतदानमा सहभागिता जनाएका थिए। सोही दिन सम्पन्न स्थानीय परिषद् चुनावले पनि सत्तारूढ पक्षका लागि निराशाजनक सन्देश दिएको छ।

राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कङ्ग्रेसले अपेक्षित सफलता हासिल गर्न सकेन भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले राजधानी माले र दोस्रो ठुलो क्षेत्र अड्डुको प्रमुख परिषद्मा विजय हासिल गरेको छ।

राष्ट्रपति मुइज्जुले सामाजिक सञ्जाल एक्समार्फत चुनाव परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै विजेताहरूलाई बधाई दिए। उनले देश आर्थिक चुनौतीबाट गुज्रिरहेका बेला खर्च घटाउने उपायका रूपमा दुवै राष्ट्रिय चुनाव एकै पटक गराउने प्रस्ताव अघि सारेका थिए। यसबाट करिब ८० लाख अमेरिकी डलर बचत हुने दाबी गरिएको थियो।

प्रस्तावअनुसार वर्तमान संसद्को कार्यकाल करिब पाँच महिना घटाएर सन् २०२८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनावसँग मिलाउने योजना थियो। तर मतदाताले यसलाई समर्थन नगरेपछि उक्त योजना कार्यान्वयन नहुने भएको छ।

यसअघि सरकारले सन् २०२४ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको बेलआउट अस्वीकार गर्दै आन्तरिक खर्च कटौतीको नीति अघि सारेको थियो। त्यसक्रममा राष्ट्रपतिको तलब आधा गर्ने निर्णयसमेत गरिएको थियो। 

करिब तीन लाख ८२ हजार जनसङ्ख्या रहेको माल्दिभ्सले आफ्नो आर्थिक समस्या अस्थायी भएको र बाह्य सहायता नलिने अडान दोहोर्‍याउँदै आएको छ। एजेन्सी

प्रकाशित: २२ चैत्र २०८२ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App