युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
युरोपेली सङ्घीय सेना (इयुफोर) का अनुसार अक्टोबर २९ मा ब्रस्को नजिकैको गोरिस क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा इटालियन चिनुक हेलिकप्टर दुर्घटनामा परेको हो। घाइते ११ जनाको अवस्था स्थिर रहेको र उनीहरूको उपचार भइरहेको इयुफोरले जनाएको छ।
दुर्घटनापछि स्थानीय आपत्कालीन चिकित्सा टोली र इयुफोरका सम्पर्क तथा अवलोकन टोली घटनास्थल पुगेका थिए। उनीहरूले घाइतेलाई उद्धार गरी ब्रस्कोको चिकित्सा केन्द्रमा पु¥याएका थिए।
इयुफोरले दुर्घटनामा कुनै पनि सर्वसाधारण घाइते नभएको र नागरिक पूर्वाधार, सम्पत्ति तथा सवारीसाधनमा क्षति नपुगेको स्पष्ट पारेको छ। दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको र तथ्य पुष्टि भएपछि थप जानकारी सार्वजनिक गरिने मिसनले जनाएको छ। साथै, अपुष्ट सूचना नफैलाउन र दुर्घटनामा संलग्न सैनिकको पहिचान तथा राष्ट्रियताबारे अनुमान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेप्रति समवेदना प्रकट गरेकी छिन् । सामाजिक सञ्जाल एक्समार्फत इटाली सरकारका तर्फबाट पीडित परिवारप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न खटिएका सबै कर्मचारीप्रति पनि सहानुभूति व्यक्ति गरेकी छिन्।
बोस्निया र हर्जगोभिनामा युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत उक्त हेलिकप्टर परिचालित थियो। इटालीको नेतृत्वमा सञ्चालन भइरहेको इयुफोर मिसनले त्यहाँ शान्ति र स्थिरता कायम गर्ने कार्य गर्दै आएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ १६:४४ शुक्रबार


-600x400.jpg)
