अन्तर्राष्ट्रिय

इरान युद्धले कोभिड महामारी जस्तै संकट निम्त्याउन सक्छ: पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धले विश्वभर कोभिड महामारी जस्तै संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

सम्भावित अमेरिकी आक्रमणको जवाफमा इरानले विश्वको प्रमुख जलमार्ग बाब-अल-मन्देव बन्द गर्ने धम्की दिएसँगै विश्वव्यापी आपूर्ति शृङ्खला जोखिममा परेको हो।

मस्कोमा व्यापारिक नेतृत्वहरूसँगको छलफलमा पुटिनले मध्यपूर्वमा जारी द्वन्द्वको सटीक अनुमान लगाउन असम्भव रहेको बताए। युद्धमा होमिएका देशहरूलाई नै यसको गहिरो प्रभावबारे अन्दाज नभएको उनको भनाइ छ।

पुटिनका अनुसार यो संघर्षले अन्तर्राष्ट्रिय लजिस्टिक, उत्पादन र आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पारिरहेको छ। यसले विश्वभरका तेल, ग्यास, धातु र मलखाद क्षेत्रका कम्पनीहरूमाथि चरम दबाब बढाएको छ।

यसैबीच, अमेरिकाले इरानको खार्ग टापुमा स्थलगत आक्रमण गर्न सक्ने रिपोर्टहरू सार्वजनिक भएका छन्। यसको प्रतिवाद गर्दै इरानले होर्मुज जलडमरूपछि अब बाब-अल-मन्देव जलडमरू नै बन्द गरिदिने चेतावनी दिएको छ।

लाल सागरको प्रवेशद्वार मानिने बाब-अल-मन्देवले लाल सागरलाई अरब सागरसँग जोड्छ। स्वेज नहरसम्म पुग्ने अधिकांश पानीजहाज यहीँबाट गुज्रिन्छन्। यो विश्वको चौथो ठूलो जलमार्ग हो। यहाँबाट विश्वको करिब १२ प्रतिशत तेल आपूर्ति हुने गर्छ।

अफ्रिकी मुलुक जिबुटीमा रहेको अमेरिकी सैन्य शिविर यस जलडमरूबाट मात्र ३० किलोमिटरको दूरीमा छ।

यदि इरानले यो रणनीतिक मार्गमा अवरोध पुर्‍याएमा मध्यपूर्वको वर्तमान संघर्ष थप भयानक बन्ने र विश्व अर्थतन्त्रले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ।

प्रकाशित: १२ चैत्र २०८२ २१:१२ बिहीबार