इरानले हिन्द महासागरमा रहेको अमेरिकी र बेलायती सैन्य आधार 'डिएगो गार्सिया' मा दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
इरानको अर्ध-सरकारी मेहर समाचार एजेन्सीका अनुसार यो कदमले इरानको क्षेप्यास्त्रको क्षमता शत्रुले कल्पना गरेभन्दा बढी रहेको देखाउँछ। जानकारी अनुसार इरानले प्रहार गरेका दुई मध्यम दूरीका क्षेप्यास्त्रले लक्ष्यमा भने प्रहार गरेनन्। एउटा क्षेप्यास्त्र उडानकै क्रममा असफल भयो भने अर्कोलाई अमेरिकी युद्ध पोतले रोक्ने प्रयास गर्यो। यो सैन्य आधार इरानी क्षेत्रबाट करिब चार हजार किलोमिटर टाढा छ। यसको अर्थ इरान अब युरोपसम्म प्रहार गर्न सक्षम भएको देखिन्छ।
यस घटनाले इरान र अमेरिका बिचको युद्ध अब हिन्द महासागरमा सरेको र भौगोलिक रूपमा विस्तार भएको संकेत गर्छ। केही हप्ता अघि मात्र श्रीलंकाको दक्षिणमा अमेरिकी पनडुब्बीले इरानी युद्धपोत 'आइरिस डेना' लाई डुबाउँदा ८५ भन्दा बढी सैनिकको मृत्यु भएको थियो। पेन्टागनले इरानी नौसेनालाई समाप्त गर्नु आफ्नो प्राथमिक उद्देश्य रहेको बताएको छ। तेहरानले युद्धलाई फराकिलो बनाउँदै लगेको रूपमा व्याख्या गरिएको छ।
डिएगो गार्सिया मौरिससको सार्वभौमिकतामा पर्ने चागोस टापुको सबैभन्दा ठुलो टापु हो, जहाँ अमेरिका र बेलायतको सैन्य अखडा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने यस टापुको हस्तान्तरणको विरोध गर्दै आएका छन्। एजेन्सी
प्रकाशित: ७ चैत्र २०८२ १४:०८ शनिबार



