अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ। निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहेका बोल्सोनारो अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको उनको परिवारले बताएको छ।

'बुवा फेरि अस्पताल जाँदै हुनुहुन्छ। प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई निमोनियाका कारण लगातार वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ,' सिनेटर तथा राष्ट्रपति पदका आकाङ्क्षी फ्लाभियो बोल्सोनारोले एक्समा लेखेका छन्।  

पूर्वराष्ट्रपति बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि असफल ‘कू’ प्रयास गर्न आफ्ना समर्थकलाई उक्साएको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो। सन् २०१८ मा एक चुनावी अभियानका क्रममा पेटमा छुरा प्रहार भएपछि उनी बारम्बार स्वास्थ्य समस्याबाट पीडित छन्। 

ब्राजिलको अर्को राष्ट्रपति चुनाव अक्टोबरमा हुँदैछ। जेलमा रहे पनि बोल्सोनारो देशको राजनीतिक मञ्चमा प्रमुख व्यक्तित्व बनेका छन्। 

पूर्व राष्ट्रपति बोल्सोनारोले आफ्ना जेठा छोरा फ्लाभियो बोल्सोनारोलाई वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई चुनौती दिन दक्षिणपन्थी उम्मेदवारको रूपमा घोषणा गरेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी बोल्सोनारोका वकिलहरूले ब्राजिलका लागि अमेरिकी विदेश मन्त्रालयका नयाँ सल्लाहकार ड्यारेन बिटीलाई मार्च १८ मा जेलमा बोल्सोनारोसँग भेट्न अनुमति दिन सर्वोच्च अदालतसँग माग गरेका थिए।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डि मोराइसले भेटको प्रबन्ध गर्न आदेश गरे पनि ब्राजिल सरकारले भेट नगर्न आग्रह गरेपछि उनले बिहीबार आफूले दिएको अनुमति रद्द गरेका थिए।  

प्रकाशित: २९ फाल्गुन २०८२ १९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App