अन्तर्राष्ट्रिय

इस्लामाबादको पिम्स अस्पतालमा आगलागी : १४ नवजात शिशुको मृत्यु, एकको उद्धार

पाकिस्तानको राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) अस्पतालको नर्सरीमा बुधबार बिहान आगलागी हुँदा १४ नवजात शिशुको मृत्यु भएको छ।

नर्सरीमा रहेका १५ शिशुमध्ये एक जनाको भने उद्धार गरिएको अस्पतालले जनाएको छ। प्रारम्भिक विवरणअनुसार स्थानीय समयअनुसार बिहान ६:३८ बजे नर्सरीभित्र एयर कन्डिसनरमा स्पार्क भएपछि आगलागी सुरु भएको थियो। इन्क्युबेटरमा प्रयोग भइरहेको अक्सिजनका कारण आगो केही सेकेन्डमै तीव्र रूपमा फैलिएको अस्पतालले जनाएको छ।

आगलागीपछि उद्धारकर्मीले भाँचिएका झ्यालबाट नर्सरीमा प्रवेश गरी शिशुहरूलाई बाहिर निकाल्ने प्रयास गरेका थिए। अस्पतालका अनुसार नर्सरीमा रहेका चिकित्सक र नर्सले पनि तत्काल उद्धार प्रयास थालेका थिए। आगोका कारण छतको केही भाग खसेको अस्पतालले जनाएको छ।

घटनापछि केही अभिभावक र आफन्तले उद्धारमा ढिलाइ भएको भन्दै प्रश्न उठाएका छन्। उनीहरूले अस्पतालमा पर्याप्त अग्नि सुरक्षा उपकरण र आपतकालीन व्यवस्था थियो कि थिएन भन्नेबारे छानबिन गर्न माग गरेका छन्। अस्पतालले भने सबै आपतकालीन निकास खुला रहेको र ३५ वटा आगो निभाउने उपकरणसहित आवश्यक सुरक्षा व्यवस्था रहेको जनाएको छ।

आगो नर्सरीमै सीमित भएको र अस्पतालका अन्य भागमा ठुलो क्षति नपुगेको अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले सोही तलाको अर्को वार्डमा रहेका ७३ जना बिरामीलाई पनि सुरक्षित स्थानमा सारेको अस्पतालले जनाएको छ।

घटनाको छानबिन गर्न इस्लामाबाद जिल्ला प्रशासनले एक समिति गठन गरेको छ। समितिलाई २४ घण्टाभित्र प्रतिवेदन बुझाउन भनिएको छ। समितिले आगलागीको कारण, आगो फैलिनुको अवस्था, अग्नि सुरक्षा व्यवस्था र उद्धार कार्यबारे अनुसन्धान गर्नेछ।

प्रधानमन्त्री शहबाज शरीफले स्वास्थ्य सचिव असलम घौरीलाई पदबाट हटाउन आदेश दिएका छन्। स्वास्थ्य मन्त्री मुस्तफा कमलले घटनामा लापरवाही गर्ने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्।

प्रधानमन्त्री शरीफ र राष्ट्रपति आसिफ अली जरदारीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक शिशुका परिवारप्रति समवेदना जनाएका छन्। जरदारीले अस्पतालहरूमा प्रभावकारी अग्नि सुरक्षा र आपतकालीन व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन्।

प्रकाशित: १० भाद्र २०८३ २२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App