फिजीमा एचआइभी सङ्क्रमण तीव्र रूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ।
सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागुऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम बढेको छ। त्यसलाई नियन्त्रण गर्न सरकारले तत्काल समन्वित कदम चाल्ने जनाएको छ।
स्वास्थ्य मन्त्री एटोनियो लालाबालुले महामारीको गम्भीरता र तत्काल आवश्यक प्रतिक्रियालाई ध्यानमा राखेर राष्ट्रिय एचआइभी आपत्काल घोषणा गरिएको बताए।
उनका अनुसार सन् २०२५ मा दुई हजार १६ नयाँ एचआइभी सङ्क्रमित पहिचान भएका थिए। यो आँकडा सन् २०१९ को तुलनामा १६ गुणा बढी हो।
सरकारका अनुसार अहिले फिजीमा करिब ६० वयस्कमध्ये एक जनामा एचआइभी सङ्क्रमण रहेको अनुमान छ। पाँच वर्षअघि यो अनुपात १६७ जनामा एक थियो।
प्रत्येक एक सय गर्भवतीमध्ये दुई जनामा एचआइभी सङ्क्रमण देखिएको थियो। सन् २०२५ मा एचआइभी सङ्क्रमणसहित जन्मिएका ५९ शिशुमध्ये १८ जनाको एक वर्षको उमेर नपुग्दै मृत्यु भएको सरकारले जनाएको छ।
सरकारले निःशुल्क एचआइभी परीक्षण, रोकथाम र उपचार सेवा विस्तार गरिरहेको छ। उच्च जोखिममा रहेका व्यक्तिका लागि रोकथाम औषधि, लागुऔषध सुईमार्फत प्रयोग गर्नेहरूका लागि हानि न्यूनीकरण कार्यक्रम तथा सङ्क्रमितका लागि निःशुल्क उपचार उपलब्ध गराइने बताइएको छ।
यसका लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, ग्लोबल फन्ड र संयुक्त राष्ट्रसङ्घबाट सहयोग प्राप्त भइरहेको छ।
युएनएड्सका अनुसार सङ्क्रमणको माध्यम पहिचान भएका मामिलामध्ये आधाभन्दा बढी यौन सम्पर्कसँग र ४२ प्रतिशतभन्दा बढी सुईमार्फत लागुऔषध प्रयोगसँग सम्बन्धित छन्।
संस्थाले फिजीले सुई तथा सिरिन्ज कार्यक्रमका लागि कानूनी व्यवस्था गर्न लागेकोमा स्वागत गरेको छ।
एसिया तथा प्रशान्त क्षेत्रका लागि युएनएड्सका निर्देशक इमोन मर्फीले फिजीसँग महामारीको दिशा परिवर्तन गर्ने अवसर अझै रहेको बताए।
उनले अन्तर्राष्ट्रिय सहयोगले फिजीको राष्ट्रिय प्रयासलाई थप प्रभावकारी बनाउन सक्ने बताए।
फिजीलगायत प्रशान्त टापुहरू एसिया र ल्याटिन अमेरिकाबाट अस्ट्रेलिया तथा न्युजिल्यान्डतर्फ लैजाने लागुऔषधको पारवहन केन्द्रका रूपमा प्रयोग हुँदै आएका छन्।
कोभिड–१९ महामारीपछि मेथाम्फेटामाइन र कोकिनजस्ता लागुऔषधको प्रवाह बढेको र विदेशी आपराधिक समूहले स्थानीय सहयोगीलाई पारिश्रमिकका रूपमा लागुऔषध दिने क्रमले स्थानीय बजारमा समेत यसको पहुँच बढाएको बताइएको छ।
प्रकाशित: १ आश्विन २०८३ १५:२० बिहीबार