इरानका विभिन्न जेलमा कम्तीमा आठ महिला मृत्युदण्डको सजाय पाएका छन्।
अमेरिकास्थित मानव अधिकार अभियन्ता समाचार एजेन्सीका अनुसार तीमध्ये चार जनाको मुद्दा जनवरीमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनसँग सम्बन्धित छ। पख्शान अजीजी र अर्घवन फल्लाहीको मृत्युदण्ड सर्वोच्च अदालतले सदर गरिसकेको छ। जहरा शाहबाज तबारीलाई पनि पुनः सुनुवाइपछि दोस्रोपटक मृत्युदण्ड सुनाइएको छ।
प्रदर्शनसँग सम्बन्धित मुद्दामा मरियम हदाभान्ड, महनाज चारदौली, लीला अबोलहसानी र तरानेह रहिमीलाई मृत्युदण्ड सुनाइएको छ। उनीहरूमाथि हत्या, आगजनी र प्रदर्शनमा सहभागी भएको लगायतका आरोप छन्।
३२ वर्षीया सेभदा अर्थात् मर्जिएह इब्राहिमी शम्साबादीलाई पनि ‘पृथ्वीमा भ्रष्टाचार’ को आरोपमा मृत्युदण्ड सुनाइएको छ। आठमध्ये पाँच मुद्दा अझै सुनुवाइ वा पुनरावेदनको चरणमा रहेको बताइएको छ।
जनवरीको प्रदर्शनसँग सम्बन्धित बिता हेम्मतीको मृत्युदण्ड सर्वोच्च अदालतले उल्टाएर पुनः सुनुवाइको आदेश दिएको छ। वरिशेह मोरादीको मृत्युदण्ड पनि यसअघि उल्टाइएको थियो। एजेन्सी
प्रकाशित: २९ भाद्र २०८३ ११:१९ सोमबार



