इथियोपियाको अम्हारा क्षेत्रमा विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा बिहीबार भएका चारवटा ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ। घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन्।
नाम गोप्य राख्न अनुरोध गरेका एक प्रत्यक्षदर्शीका अनुसार शिविरमा एकपछि अर्को गरी चारवटा ड्रोन आक्रमण भएका थिए। उनका अनुसार शिविरमा १४ जनाको शव गाडिएको थियो भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो।
शिविरका अन्य दुई बासिन्दाले पनि बालबालिकासहित क्रमशः १४ र १५ जनाको मृत्यु भएको जानकारी दिएका छन्। अदिस अबाबाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा रहेको शिविरमा विद्यार्थीहरू विद्यालयबाट घर फर्किरहेका बेला आक्रमण भएको प्रत्यक्षदर्शी अहमदले बताए । उनले आफ्नी बहिनीको मृत्यु भएको र शरीर टुक्राटुक्रा भएकाले शवसमेत फेला पार्न नसकेको बताए।
सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन तथा विश्लेषण गर्ने संस्था एकल्डले घटनामा १६ देखि २३ जनासम्म मारिएको र अज्ञात सङ्ख्यामा मानिस घाइते भएको जनाएको छ। संस्थाले मृतकमा बालबालिका परे–नपरेको भने खुलाएको छैन।
संयुक्त राष्ट्रसङ्घले जुलाईमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको अम्हारा क्षेत्रमा दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन्। यस क्षेत्रमा सङ्घीय सेनाले बारम्बार ड्रोन आक्रमण गर्दै आएको छ र द्वन्द्वका कारण करिब पाँच लाख मानिस विस्थापित भएका छन्। घटनाबारे एएफपीले सोध्दा इथियोपियाली सङ्घीय सेनाका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
प्रत्यक्षदर्शीका अनुसार शिविरमा आश्रय लिइरहेका विस्थापितहरू अम्हारासँगै जोडिएको र इथियोपियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ओरोमिया क्षेत्रका हुन्। राजधानी अदिस अबाबाले आतङ्कवादी सङ्गठन घोषणा गरेको ओरोमो लिबरेसन आर्मी (ओएलए) ले आठ वर्षभन्दा बढी समयदेखि यस क्षेत्रमा सङ्घीय सेनाविरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ १७:०६ शुक्रबार


-600x400.jpg)
