अन्तर्राष्ट्रिय

१२८ जना सवार डुङ्गा क्यानरी टापुमा दुर्घटना भएको आशङ्का

स्पेनको क्यानरी टापु नजिकै बिहीबार एउटा डुङ्गा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्पेनी सामुद्रिक सुरक्षा गार्डले बताएका छन्।  

गाम्बियाबाट १२८ जनासहित हिँडेको डुङ्गा लगभग चार हप्तासम्म समुद्रमा हराएको थियो  भने यो बिहीबार स्पेनको क्यानरी टापुको दक्षिणमा भेटिएको छ। स्पेनी समाचार संस्था (ईएफई) का अनुसार डुङ्गामा सवार ८० भन्दा बढी आप्रवासी मृत भएको आशङ्का गरिएको छ। 

उक्त डुङ्गालाई बुधबार दिउँसो ‘ग्रान क्यानारिया’बाट करिब १२० किलोमिटर दक्षिणमा स्पेनी समुद्री उद्धारका लागि प्रयोग हुने एक पानी जहाजका अधिकारीले देखेका थिए। उद्धारका लागि पठाइएको  जहाज मध्यराततिर ‘गार्डामार उरानिया’ मा रहेको दुर्घटनाग्रस्त डुङ्गासम्म पुग्दा त्यहाँ ४५ जना जीवित र पाँच जनाको शव भेटिएको थियो। 

जीवित व्यक्तिहरूलाई ‘ग्रान क्यानारिया’को ‘आर्गुइनेगुइन’ बन्दरगाहमा लगिएको छ। समुद्रको खराब अवस्थाका कारण उद्धारकर्ताहरूले पाँचवटा शव उठाउन नसकेको र ती शवहरूलाई आप्रवासी डुङ्गामै छाडिदिएको बताइएको छ। 

स्पेनको सिभिल गार्डले स्पेनी गैरसरकारी संस्था ‘कामिनान्दो फ्रोन्टेरास’ सँग भनेका छन्, ‘डुङ्गाभित्र रहेका चिह्नहरू अगस्ट ७ मा चार जना महिला र एक शिशुसहित १२८ जना यात्रु लिएर गाम्बियाबाट छुटेको डुङ्गासँग मिल्दोजुल्दो रहेका छन्।’ 

जुन महिनामा जारी गरेको प्रतिवेदनमा कामिनान्दो फ्रोन्टेरासले सन् २०२६ को पहिलो पाँच महिनामा स्पेन पुग्ने प्रयास गर्दा कुल एक हजार ३१७ आप्रवासी मरेको बताएको थियो। तीमध्ये ६३५ जनाले क्यानरी टापु जाने एटलान्टिक मार्गमा ज्यान गुमाएका थिए, जसलाई संस्थाले उक्त अवधिमा स्पेन पुग्ने सबैभन्दा घातक मार्ग भनेको छ।   

प्रकाशित: १८ भाद्र २०८३ १७:३९ बिहीबार