चीनको एक बन्दरगाहमा रोकी राखिएको विदेशी ध्वजाबाहक कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।
सीसीटीभीका अनुसार जहाजमा चालकदलका सदस्यसहित ४२ जना कर्मचारी थिए। आगलागीपछि १७ जनालाई सकुशल उद्धार गरिएको छ। पाँच जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने थप पाँच जना अझै बेपत्ता छन्। २० जना घटनास्थलमै मृत भेटिएको सीसीटीभीले जनाएको छ।
सिन्ह्वा न्यूज एजेन्सीका अनुसार आगलागी बिहान करिब ११ः१५ बजे लागेको थियो। प्रसारकले दिउँसो करिब २ः३० बजे आगलागी नियन्त्रणमा आएको जनाएको छ। ‘सन्डोङ प्रान्तको छिङदाओमा रहेको बेइहाई सिपबिल्डिङ कम्पनी लिमिटेडमा विदेशी कार्गो जहाज मर्मतका लागि बन्दरगाहमा आएका बेला आगो लाग्दा ठूलो जनधनको क्षति भएको छ,’ सिन्ह्वाले जनाएको छ।
राष्ट्रपति सी जिनपिङले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न आह्वान गर्दै घटनामा जिम्मेवारहरूलाई कडा रूपमा जवाफदेही बनाउनुपर्नेमा जोड दिएको सिन्ह्वाले उल्लेख गरेको छ। छिमेकी आवासीय परिसरका प्रत्यक्षदर्शीहरूले जहाजबाट बाक्लो धुवाँ आएको तर विस्फोटको आवाज नसुनेको बताएका छन्।
‘मैले संयोगवश जहाजमा आगलागी भएको देखिनुभन्दा पहिले धुवाँ आएको देखेँ, तर कुनै विस्फोटको आवाज भने सुनिएको थिएन,’ एक प्रत्यक्षदर्शीले बताएका छन्। सिन्ह्वाले घटनास्थलको एउटा तस्बिर सार्वजनिक गरेको छ। तस्बिरमा ‘ओशन मेलोडी’ नामक ठूलो जहाज ‘डक’मा रहेको र अगाडि धेरै दमकल गाडी आगलागी नियन्त्रण गर्न भेला भएको देखिन्छ।
‘ओशन मेलोडी’ १९० मिटर (६२३ फिट) लामो तथा धेरै सामान बोक्ने लाइबेरियाली जहाज हो। छिङदाओ प्रमुख अन्तर्राष्ट्रिय समुद्री केन्द्र हो। यो १८० भन्दा बढी देश र क्षेत्रका ७०० भन्दा बढी बन्दरगाहसँग जोडिएको छ।
राष्ट्रपति सीले घटनाबारे दुःख व्यक्त गर्दै सबै क्षेत्र र सम्बन्धित विभागले घटनाबाट गहन पाठ सिक्नुपर्ने बताएका छन्। उनले सबै प्रकारका आगलागीका जोखिमको पूर्ण रूपमा छानबिन गरी सुधार गर्न निर्देशन दिएका छन्।
प्रकाशित: २५ भाद्र २०८३ १८:२७ बिहीबार