बंगलादेशले आफ्नो मुद्राबाट देशका संस्थापक नेता शेख मुजिबुर रहमानको तस्बिर हटाएको छ। बंगलादेशमा एक जुनदेखि नयाँ डिजाइनका २०, ५० र एक हजार टाकाका नोटहरू शेख मुजिबुरको तस्बिरबिना नै जारी भएका छन्।
ती नोटहरूमा अब मुजिबुरको सट्टा प्राकृतिक दृश्य, परम्परागत स्थलचिन्ह, हिन्दू र बौद्ध मन्दिर, ऐतिहासिक महल, जैनुल आबेदिनको बंगाल भोकमरी चित्रण गर्ने कलाजस्ता तस्बिरहरू समावेश गरिएका छन्। नयाँ नोटमा १९७१ को स्वतन्त्रता संग्राममा सहिद भएकाहरूलाई सम्मान गर्ने राष्ट्रिय स्मारकको चित्रण पनि राखिएको छ।
यो परिवर्तन पूर्वप्रधानमन्त्री शेख हसिना (शेख मुजिबुर रहमानकी छोरी) सन् २०२४ को अगस्टमा सत्ताबाट बाहिरिएपछि आएको अन्तरिम सरकारले गरेको हो। मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले विगतको शासनसँग सम्बन्धित प्रतीकहरूलाई हटाउने कदम चालेको जानकारी दिएको छ।
शेख मुजिबुर रहमानको तस्बिर भएका पुराना नोटहरू नयाँ नोटहरूसँगै प्रचलनमा रहनेछन्। अन्य नोटहरू पनि चरणबद्ध रूपमा पुनः डिजाइन गरिने बताइएको छ। यो कदमले बंगलादेशको इतिहास र राजनीतिमा नयाँ अध्यायको संकेत गर्छ।
यो परिवर्तनले देशको पहिचानलाई नयाँ रूपमा प्रस्तुत गर्ने प्रयासलाई झल्काउँछ। बंगलादेशको विगत बेलायती शासनअधीन भारतसँग जोडिएको छ। सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएर भारत र पाकिस्तान बनेका थिए।
त्यसको केही दशकपछि सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो। अहिले भारतमा महात्मा गान्धी र पाकिस्तानमा मोहम्मद अली जिन्नाहको तस्बिर नोटमा राख्ने गरिएको छ। एजेन्सी
प्रकाशित: २१ जेष्ठ २०८२ १३:२३ बुधबार


