अन्तर्राष्ट्रिय

पाकिस्तानमा वर्षाबाट १०९ जनाको मृत्यु

पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ।

मौसमविद्ले यसै साता देशका विभिन्न क्षेत्रमा पुनः भारी वर्षा हुने चेतावनी दिएसँगै सरकारले सम्भावित विपद्को तयारीलाई थप तीव्र बनाएको छ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ यता देशभर मनसुनसँग सम्बन्धित घटनामा १०९ जनाले ज्यान गुमाइसकेका छन्।

अधिकांशको मृत्यु घर तथा छाना भत्किँदा भएको हो। मृतकमध्ये झण्डै आधा अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका रहेका छन्।

विपद् व्यवस्थापन प्राधिकरणले बाढीको जोखिम उच्च रहेका क्षेत्रको तयारीबारे समीक्षा गरेको भोलिपल्ट यो अद्यावधिक विवरण सार्वजनिक गरेको हो।

अधिकारीहरूले नदी किनारमा बसोबास गर्ने समुदायलाई समयमै पूर्वसूचना उपलब्ध गराई बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे बाढी आउनुअघि नै स्थानान्तरण गर्ने योजनामाथि छलफल गरेका छन्।

गत साता पाकिस्तानको सांस्कृतिक राजधानी लाहोरसहित विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि धेरै बस्ती जलमग्न भएका थिए।  

सडकहरू डुबानमा परेपछि सर्वसाधारणले लामो दूरी घुमेर यात्रा गर्नुपरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा मानिसहरू घुँडासम्मको पानी छिचोल्दै आवतजावत गरिरहेको देखिएपछि विपद् व्यवस्थापनमा सरकारको तयारी र प्रतिक्रिया प्रभावकारी नभएको भन्दै आलोचना भएको छ।

अधिकारीहरूले पछिल्ला महिनाहरूमा सन् २०२२ जस्तै विनाशकारी बाढी पुनः दोहोरिन सक्ने जोखिमलाई नकार्न नसकिने चेतावनी दिँदै आएका छन्।

सन् २०२२ को भीषण बाढीले पाकिस्तानको करिब एक तिहाइ भूभाग डुबानमा परेको थियो। त्यस विपद्मा एक हजार ७३७ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस विस्थापित भएका थिए।एपी

प्रकाशित: १२ श्रावण २०८३ १७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App