रुस र युक्रेनबीच भएका पछिल्ला पारस्परिक आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन्। आक्रमणबाट दुवै देशमा आवासीय भवन तथा नागरिक र औद्योगिक पूर्वाधारमा क्षति पुगेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी हवाई आक्रमणमा किएभस्थित नौतले आवासीय भवनमा क्षति पुग्दा आठ जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले युद्ध अन्त्य गर्ने प्रयासस्वरूप मस्को र किएभ भ्रमण गरेपछि केही समय रोकिएको रुसी हवाई आक्रमण यसै साता किएभमा पुनः तीव्र भएको छ।
यसैबीच, रुसी सहर भोल्गोग्राडमा युक्रेनी क्षेप्यास्त्र प्रहारबाट आवासीय भवनमा क्षति पुग्दा दुई जना घाइते भएका छन्। भग्नावशेषका कारण एउटा औद्योगिक सुविधामा समेत क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।
मध्य रुसको भोल्गा नदी किनारमा रहेको साराटोभ सहरमा युक्रेनी ड्रोन आक्रमणबाट नागरिक पूर्वाधारमा क्षति पुगेको क्षेत्रीय गभर्नर रोमन बुसार्गिनले बताए। रुसी इ–वाणिज्य कम्पनी ओजोनले पनि साराटोभस्थित आफ्नो सामान भण्डारण तथा वितरण केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी भएको जनाएको छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षबीच हवाई तथा ड्रोन आक्रमण भने निरन्तर भइरहेका छन्।
प्रकाशित: २६ भाद्र २०८३ १७:५४ शुक्रबार